करिब २३ बर्ष अघिको चलचित्र 'युगदेखि युगसम्म' क निर्देशक दिपक रायमाझीले नेपाली चलचित्रकर्मीहरूको कुनै मापदण्ड नभएको बताएका छन् । उनले कुनै ज्ञान नभई एक दुई क्ल्यापको भरमा निर्देशक बन्नेहरूले नै नेपाली चलचित्रको स्तर खसालेको आरोप लगाएका छन् । एक दैनिक पत्रिकासँग कुरा गर्दै उनले प्रोडक्ट मात्र नभएर मेकानिज्म समेत गलत भएको बताएका छन् ।
आफू पनि पुरानै ढर्राको निर्देशक भएको स्विकार्दै अब भने ट्र्याक परिवर्तन गरेर नेपाली चलचित्रलाई अर्न्तराष्ट्रिय बजारमा पुर्याउन कोसिस गर्ने बताएका छन् । नेपाली चलचित्रकर्मीहरूले पञ्चायतकालमै बनाउने ढर्राको चलचित्रहरू बनाई रहेको बताउँदै निर्देशक रायमाझीले आफूले निर्माण गरेका चलचित्र आफ्नै सन्तानले नहेर्ने तितो यथार्थलाई मनन गर्दै मेकरहरूले चलचित्र निर्माणमा बिशेष ध्यान पुर्याउनु पर्ने बताए । अब आफू पनि पुरानो ढर्राबाट हटेर चलचित्र निर्माण गर्ने रायमाझीको भनाई छ ।
फरक धारको चलचित्र निर्माण गर्ने बताउँदै निर्देशक रायमाझीले शुरूवात चलचित्र 'मेड इन नेपाल' बाट गर्ने बताएका छन् । बिश्व बजारलाई समेत लक्षित गरेर चलचित्र निर्माण गर्न लागेको बताउने रायमाझीले यस पछि गर्लफ्रेण्ड नामक चलचित्र निर्माण गर्ने बताएका छन् । नयाँ पुस्ताको बदलिँदो मनोविज्ञानलाई ख्याल गरेर चलचित्र निर्माण गर्ने उनको भनाई छ ।
सन् २०१२ मा भारतिय निर्माताको लगानीमा 'मुम्बई टु काठमाडौं' र रसियनको लगानीमा 'मिसन हिमालयज' चलचित्र निर्माण गर्ने योजनामा रहेको बताउने यि निर्देशकका 'लभ स्टोरी २०६६', 'चाँडै आऊ है', र 'डेस्टिनेसन काठमाडौं' रिलिजका क्रममा छन् ।