थोरै मात्र नेपाली चलचित्र अर्न्तराष्ट्रिय फेस्टिभलमा पुग्ने गरेका छन् । जति पुगेका छन् ति मध्ये केहि चलचित्रले अवार्ड पनि हात पारेका छन् । यसरी नेपाली चलचित्र अर्न्तराष्ट्रिय फेस्टिभलमा सहभागी हुने क्रममा भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा बनेको चलचित्र 'आचार्य' पनि परेको छ ।
आगामी आउँदो असोज ६ गते नेपालमा सार्वजनिक हुन लागेको सो चलचित्र १३ औं मुम्बई इन्टरनेश्नल फिल्म फेस्टिभलमा छनौट भएको छ । अक्टुबरको दोस्रो साता तिर हुन लागेको सो फेस्टिभलमा चलचित्रले सहभागिता जनाए पछि निर्माण युनिट निकै खुसी छ । चलचित्रका निर्देशक प्रशान्त रसाईलीले मेहनत गरेर राम्रो चलचित्र बनाएकोले अर्न्तराष्ट्रिय फेस्टिभलमा हुन सफल भएको बताए । यो चलचित्र नयाँ अनुहार विधा अन्तर्गत छनौट भएको निर्देशकको भनाई छ ।
सिल्करूटको व्यानरमा निर्माण गरिएको चलचित्र आचार्यमा भक्तराजका जेष्ठ सुपुत्र सत्यराजले मुख्य भुमिका निर्वाह गरेका छन् । सत्यराजको साथमा सो चलचित्रमा अरूणा कार्की, सुनिल पोखरेल लगायतले अभिनय गरेका छन् भने भारतिय गजल गायक गुलाम अलिको बिशेष भुमिका रहेको छ । रोशन राईले निर्माण गरेको सो चलचित्रमा भक्तराज आचार्यकै संगीत, शैलेन्द्र कार्कीको छायाँकन तथा सम्पादन रहेको छ ।