भदौ १६ बाट उपत्यका र पश्चिमका सिनेमा घरहरु मार्फत प्रदर्शनमा आएको चलचित्र ब्रेकफेल आजबाट पूर्वका सिनेमा घरहरूमा भव्यताका साथ प्रदर्शन भईरहेको छ । अन्य स्थानमा व्यापरिक सफलता पाइरहेको चलचित्रले पूर्वमा पनि राम्रो व्यापार गर्ने आशा निर्माण पक्षको रहेको छ ।
चलचित्रको प्रसार प्रसार गर्न र दर्शकसँग प्रत्यक्ष चलचित्र हेरेर प्रतिक्रिया लिन चलचित्रको टोली पूर्व आएको छ । टोलीमा चलचित्रका निर्देशक शंकर घिमिरे, नायिका एवं प्रस्तुतकर्ता ऋचा घिमिरे र नायक विमलेश अधिकारी रहेका छन् । चलचित्रको यो टोलीले बुधवार दमकको निलकण्ठ चलचित्र मन्दिर र विर्तामोडको कृष्ण टाकीजमा पुगेर दर्शकसँग प्रत्यक्ष चलचित्र हेरेका थिए ।
आफ्नो पहिलो चलचित्र नै दर्शकले रुचाए पछि नायक विमलेश अधिकारी मख्ख देखिन्थे । दर्शकको सदभावबाट हौसिएका अधिकारी आफ्नो फिल्मी क्यारियर सफल हुनेमा विश्वस्त देखिन्थे । उता आफुहरुले मिहिनेत गरेर बनाएको चलचित्रले देशभर नै सफलता पाइरहेकोमा घिमिरे दम्पती पनि हर्षित मुद्रामा थिए । चलचित्र हेरिसके पछि यो टोली स्थानीय संचार माध्यममा अन्तरवार्ता दिनमा व्यस्त भएको थियो ।
लाइट कमेडी चलचित्र भनेर प्रचार प्रसार गरिएको चलचित्र ब्रेकफेल पूर्वको निलकण्ठ चलचित्र मन्दिर दमक, कृष्ण टाकिज बिर्तामोड, सुकुना चलचित्र मन्दिर बिराटचोक, किरण चलचित्र मन्दिर झुम्कामा प्रदर्शन भइरहेको छ । ब्रेकफेल धरानमा भने चाडै प्रदर्शन हुनेछ । ऋचा र विमलेशको अलावा चलचित्रमा निरज बराल, राजेश हमाल, ममता प्रधान, पुष्कर भट्ट लगायतको समेत अभिनय रहेको छ । मनोज कुमार घिमिरे, प्रदिप सिहं र शिबहरी कार्कीले लगानी गरेको चलचित्रमा सत्यस्वरुपको संगीत रहेको छ ।