चलचित्र विकास बोर्डले असोज १ गते चलचित्र दिवस मनाउने निर्णय गरेकोमा निर्माता संघले त्यसको स्वागत गरेको छ । निर्माता संघका अध्यक्ष राजकुमार राईले राम्रो निर्णय गर्नको लागी कसैसंग सोधिरहन जरुरी नभएको बताउदै उपयुक्त निर्णय पक्षमा उभिन सबैलाई आग्रह गरेका छन् ।
चलचित्र दिवस तय गरिनु चलचित्रकर्मीहरुको लागी अत्यन्तै खुसिको कुरा भएको बताउदै अध्यक्ष राईले चलचित्र दिवसलाई भब्य बनाउन निर्माता संघले बिशेष कार्यक्रम गर्न सक्ने बताएका छन् । समय मिलेको खण्डमा उक्त दिन सबै चलचित्रको छायाँकन स्थगित गरी चलचित्र दिवसलाई मनाउन बिशेष कार्यक्रम गर्ने सोचाईमा रहेको उनले जनाए ।
चलचित्र दिवस जस्तो गौरवमय दिनलाई भब्य रुपमा मनाउन सबै चलचित्रकर्मीहरुको एकता र सहकार्य आवश्यक भएको बताउदै राईले यसको बारेमा नकारात्मक टिप्पणी नगर्न चलचित्रकर्मीहरुलाई आग्रह गरेका छन् । यदि बोर्डले गरेको निर्णयबाट कसैलाई हानी हुन्छ भने सबै मिलेर बिरोध गर्नु पर्ने बताउदै उनले सबैको फाइदाका लागी गरिने निर्णय असमझदारी हुनुको कुनै फाइदा नभएको जनाए ।
नेपाली चलचित्र निर्माण क्रम सुरु भएको करिब ५ दशक पछि पहिलो पटक राज्य स्तरबाट चलचित्र दिवसको रुपमा असोज १ गतेलाई मनाउने निर्णय बोर्डले गर्नुले राज्यले पनि चलचित्रलाई चासो दिदै छ भन्ने संकेत गरेको राईको भनाई छ । यता चलचित्र विकास बोर्डले चलचित्र दिवसको दिन हरेक चलचित्रकर्मीलाई आ-आफ्नो घरमा दिपावली गर्न आग्रह गरेको छ । नेपाली चलचित्रकर्मीहरूका लागि यो सबैभन्दा ठूलो चाड हुने भएकाले तिहारमा जस्तै यस दिवसमा पनि दिपावली गरेर चलचित्र दिवस भव्य रूपमा मनाउन बोर्डले आग्रह गरेको हो । बोर्डले पनि सो दिन दिपावली गर्ने भएको छ ।
चलचित्र दिवसको दिन एक बिशेष कार्यक्रमको आयोजना गर्न लागेको बताउँदै बोर्डले यस दिवसलाई सफल पार्न सबै संघसंस्था तथा चलचित्रकर्मी र सञ्चारकर्मीलाई बिनम्र अनुरोध पनि गरेको छ । बुझ्नमा आए अनुसार अब बोर्डले राष्ट्रिय चलचित्र अवार्ड देखि बोर्डसँग सम्बन्धित मुख्य कार्यहरू यसै दिनको अवसर पारेर गर्ने भएको छ ।