साउन अन्तिम साताबाट छायाँकन शुरू गरिने भनिएको चलचित्र 'मेरो वेष्ट फ्रेण्ड' को छायाँकन अझै हुन सकेको छैन । भदौ महिना सकिनै लाग्दा पनि चलचित्रको छायाँकन हुन नसक्नु बारे निर्देशन प्रसन्न पौडेलले कुनै प्रतिक्रिया नदिए पनि छायाँकनको मिति तय गर्न ज्योतिषको शरणमा पुगेको बताए ।
गौशालामा रहेका एक ज्योतिष (जसको नाम प्रशन्नलाई आफैलाई थाहा छैन उनले गुरु भनेर सम्बोधन गर्ने गर्दछन्) ले २७ गते मंगलबार साँझ मात्र चलचित्र छायाँकनको समय दिने उनले बताएका छन् । यसपटक आफु पनि ज्योतिषकोमा पुगेको बताउदै प्रशन्नले ज्योतिषले जुराएको दिन र समयमा नै चलचित्रको छायाँकन थालिने बताए । चलचित्रले राम्रो ब्यापार गरोस भनेर ज्योतिषकोमा गएको त हैन भन्ने प्रसंगमा प्रशन्नले कुनै जवाफ नदिईकन हाँसेर टारे ।
मिल्ने साथिहरुले एक अर्कालाई चाहदा चाहदै पनि उनिहरुको बिचमा बिबाह नहुने प्रसङ्गलाई वेष्ट फ्रेण्डका रुपमा चलचित्रमा देखाइदै छ । झरना बज्राचार्य, रेश मरहठ्ठा, दिवस उप्रेती लगायतका कलाकारहरुको मुख्य भुमिका चलचित्रमा देख्न पाइने छ । आशाबादी फिल्म्स प्रालीको ब्यानरमा बन्न लागेको चलचित्रको छायाँकन काठमाडौ आसपासका स्थानमा गरीने भएको छ ।
अच्युत अधिकारीको कथा र संवाद रहेको चलचित्रमा हिमाल केसीको द्धन्द्ध रहने छ । गायक प्रमोद खरेलले संगीत दिने चलचित्रलाई बिदुर पाण्डेले खिच्ने भएका छन् । छायाँकनको मिति ज्योतिषिले जहिलेलाई तय गरे पनि यस अघि नै चलचित्रको पोष्टर र प्रोमो र्सार्वजनिक गरीएको छ ।