साहित्यीक कृति माथि बनेका प्राय चलचित्रहरुले खासै राम्रो ब्यापार गर्न नसके पनि चर्चा भने निकै पाउने गरेका छन् । व्यापारिक हिसाबले असफल मानिएका साहित्यीक चलचित्र बिश्व बजारमा भने जम्न सकेको तथ्य छ । यहि साहित्यीक कृति माथि बनेको चलचित्र 'मसान' भने व्यापारिक हिसाबले पनि सफल हुने आश चलचित्रकर्मीको छ ।
शुक्रबार साँझ चलचित्र 'मसान' को सेन्सर गरेपछि सेन्सर बोर्डका सदस्यहरुले यस्तो चलचित्रले अर्न्तराष्ट्रिय बजार राम्रोसँग पाउने आश गरे । चलचित्रलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको बताउँदै बोर्डका सदस्य चेतन सापकोटाले मुम्बैया मसलाबाट पर हटेर मौलिक नेपाली चलचित्र बनेको बताए । उनले चलचित्रलाई बिश्व बजारमा पुर्याउन सक्ने हो भने नेपाली चलचित्रको स्तर राम्रो बनेकोमा बिदेशमा रहने नेपालीहरु विश्वस्त हुने बताए ।
चलचित्र 'मसान' हरेक दृष्टिबाट राम्रो लागेको बताउदै सापकोटाले चलचित्रका निर्देशक बरिष्ट चलचित्रकर्मी निर शाहको मुक्त कण्ठले प्रसंसा गरेका छन् । चलचित्र हेरी सकेपछि सेन्सर बोर्डका सदस्यहरुले राम्रो चलचित्र बनाएकोमा चलचित्र युनिटलाई बधाई दिएको सापकोटाले बताए । गोपाल प्रसाद रिमालको ऐतिहासिक साहित्यिक कृति मसानमा आधारित चलचित्र मसानमा राजबल्लभ कोइराला, केकी अधिकारी, निता ढुङ्गाना लगायतका कलाकाहरुको प्रमुख भुमिका रहेको छ ।