नेपाली चलचित्र 'सायद' अब भारतिय नागरिकले पनि हेर्न पाउने भएका छन् । बंगाली चलचित्रका निर्माता तथा बितरक अमर देव र बंगाली निर्माता टिकम शर्माले भारतिय ३० लाखमा चलचित्र 'सायद' लाई किनेको छ । हिन्दी र बंगाली भाषामा निर्माण गरि रिलिज गर्ने सर्तमा चलचित्रका निर्माता सुनिल रावलले उनीहरूलाई आफ्नो चलचित्र बेचेका हुन् ।
सोमबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी भारतिय चलचित्र निर्माण कम्पनी देव क्रियटिभका प्रमुख अमर देव र चलचित्रका निर्माता सुनिल रावलले चलचित्रका केहि कलाकारलाई हटाएर बंगाली कलाकारलाई लिएर पुन: छायाँकन गर्ने सर्तमा सम्झौता पत्रमा हस्ताक्षर गरे । चलचित्रमा प्रस्तुत गरिएका पहिलो पुस्ताका कलाकारहरूको ठाउँमा बंगाली कलाकारहरूलाई लिएर चलचित्रको पुन: छायाँकन गरेपछि मात्र बंगालमा रिलिज गर्ने बंगाली निर्माता तथा बितरक अमर देवले जानकारी गराए ।
नेपालमा नै पुन: छायाँकन गर्ने खर्च निर्माता रावलले बेहोर्ने छन् भने बंगाली कलाकार र डबिङको खर्च अमर देवले बेहोर्ने भएका छन् । चलचित्रका दोस्रो पुस्ताका कलाकार र संगीतलाई भने हेरफेर नगरिने भएको छ । सायदले बंगालमा राम्रो व्यापार गरेमा हिन्दीमा डबिङ गरेर समेत चलचित्र रिलिज गर्ने बंगाली निर्माता टिकम शर्माले जानकारी गराए । नेपाली चलचित्रको निर्माता समेत रहेका शर्माले चलचित्रको कथाबस्तु मन परेर नै रिलिज गर्न लागेको बताए ।
नेपाली चलचित्रलाई भारतिय कम्पनीले किन्नु उधोगका लागि नै खुसीको कुरा भएको चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले बताए । चलचित्रका निर्देशक सुरज सुब्बा र निर्माण युनिटलाई राम्रो चलचित्र बनाएकोमा बधाई दिंदै भण्डारीले सो चलचित्रको सफलताको कामना गरे । यसैगरी निर्माता संघका अध्यक्ष राजकुमार राईले पनि नेपाली चलचित्र यसरी बिश्व बजारमा पुग्नु खुसीको कुरा रहेको बताए ।