हार्डडिस्कबाट उडेको चलचित्र 'प्लान' को सिनलाई डिसियन र साईलेन्स इन्टरटेन्मेन्टले संयुक्त रूपमा मिलेर पुन: छायाँकन गर्ने भएको छ । सोमबार बसेको चलचित्रको निर्माण युनिट, डिसियन र साइलेन्सको संयुक्त बैठकले डिसियनले क्यामेरा सहितको इक्विपमेन्ट उपलब्ध गराउने र सुटिङमा हुने खर्च साईलेन्स इन्टरटेन्मेन्टले बेहोर्ने निष्कर्ष निकालेको हो ।
चलचित्रका निर्देशक सोभित बस्नेतले दिएको जानकारी अनुसार हार्डडिस्कबाट उडेको दुर्घटनाको सिन र पिकनिकको सिन को छायाँकन बिहिबार गरिने छ । अपरेटरको हेलचक्र्याईंले गर्दा दु:ख पाउनु परेको बताउँदै निर्देशक बस्नेतले हार्डडिस्कबाट सिन उडे पछि प्राबिधिक काम अड्किएको बताए । उनले भने, 'यति बेला सम्ममा त सम्पादन सकिएर अन्य काम शुरू गरिन्थ्यो । बेकारमा दु:ख मात्र भयो ।' उनका अनुसार उडेको सिन चलचित्रका लागि अत्यावश्यक भएकाले पनि छायाँकन कुनै पनि हालतमा गर्नु परेको हो ।
सलोन फिल्म्सको व्यानरमा कविता श्रेष्ठले निर्माण गरेको चलचित्र 'प्लान' मा मुकेश ढकाल, रागिनी खड्गी, सुनिल थापा, अनुष्का ढकाल, मोहन निरौला, शोभित बस्नेत, ध्रुव न्यौपाने, अनिता दाहाल, राजेन्द्र खड्गी लगायतले अभिनय गरेका छन् । डिजेहरुको अर्न्तद्धन्द्धलाई मुख्य कथाबस्तु बनाएर निर्माण गरीएको यस चलचित्रमा दिनेश न्यौपानेको लेखन, राजेन्द्र खड्गीको द्वन्द, शिव बिकको नृत्य तथा कृष्ण श्रेष्ठको छायाँकन रहेको छ । चलचित्रमा सिक्किमको रमणिय स्थानहरूलाई समेटिएको छ ।