डिजिटल फिल्म अवार्डको तेस्रो संस्करण सिजी डिजिटल फिल्म अवार्ड २०६८ को अवार्ड आज साँझ जमल स्थित राष्ट्रिय नाचघरमा एक भव्य समारोहका बिच अवार्ड बितरण गरिंदै छ । हिमालय टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने सो कार्यक्रम साँझ ४ बजेबाट शुरू गरिने आयोजक संस्था छायाँछबि प्रकाशनका अध्यक्ष शान्ति प्रियले जानकारी दिए । यसै गरी कार्यक्रमको स्टार एफएमले पनि प्रत्यक्ष प्रशारण गर्नेछ ।
नेपाली चलचित्र र चलचित्रकर्मीहरुको लागी महान चाड मानिएको सिजि डिजिटल फिल्म अवार्ड २०६८ लाई भब्य बनाउन बिभिन्न कार्यक्रमहरुको समेत गरिने भएको छ । कलाकारहरुको प्रस्तुतिको लागी पनि लोकप्रिय मानिएको डिजिटल फिल्म अवार्डमा यस पटक पनि बिभिन्न चर्चित कलाकारहरुको प्रस्तुतीले कार्यक्रमलाई रोचक र भव्य बनाउने आयोजकको दाबी छ । अवार्डमा यस पटक श्यामश्वेतबाट डिजिटल शिर्षकमा आमा चलचित्र देखि कस्ले चोर्यो मेरो मन सम्मका बिभिन्न ७ चलचित्रका चर्चित गितहरुलाई शुभबहादुर र प्रेम रानाको टीमले सेक्सोफोन मार्फत १५ मिनेट सांगितिक प्रस्तुति प्रस्तुत गर्नेछ ।
यस पटकको अवार्ड कार्यक्रममा कलाकारको आकर्षक प्रस्तुतीको साथमा थप केहि आकर्षक कार्यक्रमहरू गरिंदै छ । जस अर्न्तगत प्रदिप उदयले निर्माण गरेको दुई चलचित्र 'मालतीको भट्टी' र 'हाम्रो माया जुनी जुनीलाई' को अडियो सिडी सार्वजनिक गरिंदै छ भने दिनेश डिसीले निर्देशन गर्ने चलचित्र 'मायाज बार' को मुहुर्त पनि गरिंदै छ । यस्तै आजको अवार्डमा नायक मुकेश ढकाल र नायिका निता ढुङ्गानाले नृत्य प्रस्तुत गर्ने भएका छन् । अवार्डलाई बृहत बनाउनको लागी यस पटक छायाँछबि पत्रकारिता सम्मान र डिजिटल चलचित्रकर्मी सम्मान पनि प्रदान गरिने अध्यक्ष प्रियले जानकारी दिए ।
चलचित्रकर्मीहरुको आकर्षण र डिजिटल चलचित्र निर्माणमा आएको तिब्रतासंगै यस पटक सिजी डिजिटल फिल्म अवार्डमा सहभागीता जनाएका चलचित्रहरुलाई निर्णायकहरू मोहन निरौला, ओम प्रतिक, राजेश खनाल र दिनेश कार्कीले मूल्याङकन गरेका छन् । जुरीको निर्णयका आधारमा बिभिन्न २९ बिधामा उत्कृष्ठलाई अवार्ड प्रदान गरिनुका साधै यस पटक दर्शकहरुको मतलाई समेत आधार मानेर उत्कृष्ट दर्शक छनौट अवार्ड समेत प्रदान गरिदै छ । सो अवार्ड कार्यक्रममा १४० चलचित्रकर्मीको प्रतिष्पर्धा रहेको छ ।