रोज पिक्चर प्रालिको पाँचौ प्रस्तुती रहेको चलचित्र 'तृष्णा' को अहिले पोखराको विभिन्न रमणिय स्थानहरुमा छायाँकन भैरहेको छ । गत हप्ता पोखराको बिन्ध्वाबासिनी मन्दिरमा मुहुर्त गरि छायाँकन थालिएको चलचित्र तृष्णाको बुधबारबाट क्लाईमेक्सको छायाँकन सुरु गरिएको छ ।
द्वन्दको निर्देशन गरिरहेका द्वन्दनिर्देशक हिमाल केसीले दर्शकले यो चलचित्रमा अन्य चलचित्रको भन्दा अलि फरक किसिमको फाईट देख्न पाउने खुलाए । कस्तो फरक भन्ने प्रश्नमा केसीले भने 'हामीले यो चलचित्रमा बलिउड चलचित्र सिङगमको जस्तो फाईटको टेक्निकलाई प्रयोग गर्दैछौँ ।' सिङगमको फाईट आफुलाई मन परेकोले निर्देशक प्रदिप श्रेष्ठसँग सल्लाह गरेर त्यस्लाई प्रयोग गर्न खोजिएको उनले बताए ।
प्राविधिक हिसावले अब्बल मानिएका निर्देशक प्रदिप श्रेष्ठको निर्देशनमा छायाँकन भैरहेको चलचित्रका प्रस्तुतकर्ता पोखराका व्यवसायी पवन प्रजापति हुन् भने मौनता श्रेष्ठ र हिरा कुँवर निर्माता हुन् । एक जना विवाहित पुरुष अन्य स्त्रीसंग सम्बन्ध राख्दा उस्ले समाजमा र परिवारमा कस्ता कस्ता परिस्थितिको सामना गर्नु पर्छ भन्ने कथा रहेको चलचित्रमा आयुस रिजाल, झरना थापा, रिया श्रेष्ठ र सुरेश केसीको प्रमुख भुमिका रहेको छ ।
यो भन्दा अगाडी मौनता श्रेष्ठले निर्माण गरेको चलचित्र 'बोस' बाट नायिकामा डेब्यु गरेकी नवनायिका रिया श्रेष्ठको यो दोस्रो चलचित्र हो भने यहि चलचित्रबाट नायकमा पोखरेली युवा सुरेश केसीले नायकमा डेब्यू गर्दैछन् । मौनता श्रेष्ठको लेखन रहेको तृष्णामा संगित वसन्त सापकोटा, छायाँकन रामशरण उप्रेती, द्धन्द हिमाल केसी तथा नृत्य कविराज गहतराजको रहेको छ । चलचित्रको ५० प्रतिशत छायाँङकन पोखरामा गरि बाँकी काठमाण्डौ लगायतका स्थानमा गर्ने निर्माता मौनता श्रेष्ठले जानकारी दिए ।