बुधबार साँझ सम्पन्न सिजी डिजिटल फिल्म अवार्ड हेर्न लायक कै थियो । एक भव्य समारोहका बिच सम्पन्न सो अवार्ड कार्यक्रमको मुख्य आकर्षण भने नायिका रेखा थापा र नायक आर्यन सिग्देल नै भए ।
छायाँछबि प्रकाशनको आयोजनामा सम्पन्न भएको सिजी डिजिटल फिल्म अवार्डमा रेखा फिल्म्सको चलचित्र 'कस्ले चोर्यो मेरो मन' बाट नायिका रेखा थापाले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाईन् भने नायक आर्यन सिग्देलले सोही चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारे । यहि चलचित्रका यि दुई कलाकार बिच पानी बाराबार छ भन्ने कुराको पुष्टी यो अवार्डले पनि गरिदियो ।
जब नायिका रेखा थापालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड लिन स्टेजमा बोलाईयो सबै तिरबाट तालीको आवाज घन्कियो । रेखाले अवार्ड लिईसके पछि दुई चार शब्द बोल्न चाहिन् । आफूलाई अवार्ड दिलाउन सहयोग गर्ने दुई नायकको नाम उनले प्रमुखताका साथ लिईन् । जब उनले दुई नायकको नाम लिन्छु भनिन् तब सबैले आर्यनको नाम आउने अनुमान लगाए । सस्पेन्स पाराले बोल्दै गएकी रेखाले अनुमान बिपरित चलचित्रका निर्देशक सबिर श्रेष्ठ र आफ्ना पती तथा निर्माता छबि ओझा नै सो चलचित्रका मुख्य दुई नायक भएको बताईन् ।
त्यसपछि पनि रेखाले केहि व्यक्तिको नाम लिईन् तर आर्यनको नामको उच्चारण गर्न गार्हो मानिन् । यसरी आफ्नै चलचित्रका मुख्य नायकको नाम उच्चारण नगर्दा सबैले रेखा र आर्यन बिच द्वन्द रहेको अनुमान लगाए । उपस्थित दर्शकको अनुमानलाई अझ बढावा दिने काम आर्यनले पनि गरे । आर्यनलाई पनि उत्कृष्ट अभिनेताको अवार्ड दिएपछि आयोजकले दुई शब्द बोल्न लगायो । आर्यन पनि के कम उनले आफ्नो रिस देखाई हाले ।
शुरूमा उनले आफूलाई ब्रेक दिने निर्माता छबि ओझाको नाम लिए । त्यसपछि निर्देशक सबिर श्रेष्ठलाई पनि उनले सम्झे । अनुमान बिपरित आर्यनले भने रेखाको नाम लिए तर आक्रोशित भावमा । अनुहारमा केहि खुसी तथा केहि रिस देखाउँदै आर्यनले रेखा प्रति इन्कित गर्दै भने, ' मेरो नाम नलिए पनि थ्यान्क्यू रेखा ।' यति सम्म भनेको भए त ठिकै थियो तर आर्यनले अन्तममा आफ्नो भएभरको रिस रेखा माथि पोखेर हिंडे । नपोखुन पनि किन आफ्नै चलचित्रकी सहकर्मी साथीले नाम नलिएपछि । हुनत रेखाले आफूले ब्रेक दिनेको कलाकारको नाम लिनु पर्छ भन्ने नठानेको पनि हुनसक्छ ।
जे जस्तो भए पनि यसरी अवार्ड कार्यक्रममा एकले अर्काको घोचपेच गर्नु राम्रो कुराको संकेत भने पक्कै हैन । कलाकार भए पछि सबैको प्रिय बन्न सक्नु पर्छ भन्ने हाम्रो मान्यता हो । जय सिनेमा ।