मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अवार्डका केही रोचक प्रसंग

फिल्मीखबर, काठमाण्डौ, 2011/09/15

छायाँछबि प्रकाशनको आयोजनामा बुधबार भब्य रुपमा सम्पन्न भएको सिजी डिजिटल फिल्म अवार्डमा चलचित्रकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । राजेश हमाल, करिष्मा मानन्धर, आर्यन सिग्देल, रेखा थापा लगायतका थुप्रै कलाकार तथा चलचित्रकर्मीको उपस्थितीले अवार्ड रोचक बनेको थियो । अवार्ड कार्यक्रमलाई अझ रोचक बनाउने केहि व्यक्तिहरूको हात महत्वपूर्ण रह्यो ।

कार्यक्रममा हाँस्य कलाकार दिपक राज गिरीले आफ्नो प्रस्तुति प्रस्तुत गर्दा नाचघर भरि हाँसोको फोहोरा छुटेको थियो । दिपकले चलचित्रको नामलाई लिएर व्यङग्य गर्दा अरुको तुलनामा चलचित्रकर्मीहरु बढी हाँसेका देखिन्थे । चलचित्रको नाम के हुनुपर्नेमा के भयो भन्दै उनले अधिकांश चलचित्रहरुको ब्यापारलाई हेरेर व्यङग्य गरेका थिए । यस्तै उनले चर्चित नायकहरुको नाच माथि समेत व्यङग्य गर्न भ्याए । कार्यक्रममा उपस्थित महानायक राजेश हमालको नृत्यको नक्कल गर्दा हमाल समेत मज्जाले हाँसेका थिए ।


कार्यक्रममा उपस्थित नायक आर्यन सिग्देलदेखि मुकेश ढकाललाई समेत व्यङग्य गर्न पुगेका दिपकले मुकेश ढकाललाई किसर हिरोको रुपमा प्रस्तुत गरेका थिए । अझ रमाइलो त के भने एक चलचित्रमा मुकेशसँग किस गरेकी नायिका निता जो मुकेशसँगै बसेकी थिइन् उनको हाँसो मुकेशको भन्दा बढी थियो । दिपकले बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई पनि छोडेनन् । मदन कृष्ण श्रेष्ठको हिँडाइको नक्कल गर्दा हल हाँसोले गुन्जयमान भएको थियो ।


यता औपचारिक कार्यक्रमहरुमा सधै ढिला पुगेर ढिला नायकको उपमा पाएका राजेश हमालले हिजो भने ढिला आउनुको फल पाए ।  कार्यक्रम स्थल नाचघरको पार्किङ स्थल भरिएपछि हमालले उक्त स्थानमा आफ्नो कार पार्किङ गर्ने ठाँउ पाएनन् । केही समय पार्किङ समस्याले अन्यौलमा परेका महानायकले अन्तत होटल अन्नपुर्ण दरबार मार्गमा गएर गाडी पार्किङ गरी ट्याक्सी चढेर कार्यक्रममा आएका थिए ।


कार्यक्रमको अर्को रमाइलो पाटो हो चर्चित कलाकारहरुको नृत्य । हलिउड र बलिउडमा समेत आयोजना गरिने बिभिन्न अवार्ड कार्यक्रमहरुमा समेत चर्चीत कलाकारहरुको नृत्यले समेत चर्चा पाउने गरेको छ । यस्तै यो अवार्डमा नायक मुकेश ढकाल र नायिका निता ढुङ्गानाको नृत्यले चर्चा पायो । कार्यक्रममा उनिहरुको नृत्यले धेरैको ध्यान तानेको थियो । चलचित्र 'मायाज बार' बाट डेब्यू गर्न लागेका गजित बिष्टको नाच सबैभन्दा राम्रो रहेको दर्शकको भनाई थियो ।


कार्यक्रमको आर्कषण बनेकी नायिका करिष्मा मानन्धरले आफ्नै समकक्षि महानायक राजेश हमाललाई अवार्ड प्रदान गरिन् । अवार्ड बितरणका लागी स्टेजमा पुगेकी करिष्माले छायाँछबि पब्लिक च्वाइस अवार्ड पाएका महानायकलाई अवार्ड प्रदान गरेकी थिइन् । हमाललाई अवार्ड प्रदान गर्ने क्रममा करिष्मा केही असहज महसुस गरेको जस्तो उनको अनुहारले संकेत गरेको थियो । तर पनि नायिका करिष्मा मानन्धरले राजेशलाई अवार्ड प्रदान गर्दा उपस्थित धेरै चलचित्रकर्मीहरुले रमाइलो मानेर हेरिरहेका थिए ।


यस्तै नायक श्रीकृष्ण श्रेष्ठको पोल्टामा सर्बोत्कृष्ट बाल कलाकारको अवार्ड घोषणा गर्ने जिम्मा पर्‍यो । जव श्रीले खामको शिलबन्दी खोल्दै बोल्न थाले अनि सर्बोत्कृष्ट बालकलाकार आँफै अर्थात श्रीकृष्ण श्रेष्ठ भएको घोषणा गरे । जुन घोषणाले हल हाँसोले गुञ्जिएको थियो । कार्यक्रमको अर्को आकर्षक पक्ष रेखा थापा र आर्यन सिग्देलको जुहारी थियो । जुन कुरालाई फिल्मीखबरले केहि समय अगाडी प्रस्तुत गरिसकेको छ ।