चलचित्र विकास बोर्डले बिहिबार आफ्नो कार्यालयमा सञ्चारकर्मीहरूसँग बिशेष अर्न्तक्रिया कार्यक्रमको आयोजना गर्यो । असोज १ गते चलचित्र दिवस मनाउन लागिरहेको अवस्थामा बोर्डले सो दिवसका बारेमा प्रतिक्रिया तथा सुझाव लिन पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको हो ।
बोर्डले एक प्रेश विज्ञाप्ती जारी गरि राष्ट्रिय चलचित्र दिवस कार्यक्रमको रुपरेखा सञ्चारकर्मी समक्ष पेश गर्यो । प्रेश विज्ञाप्ती पढेपछि सञ्चाकर्मीहरूले बोर्डका अध्यक्ष गणेश भण्डारीलाई केहि सुझावको साथमा कार्यक्रम भव्य रूपमा सम्पन्न होस् भनि शुभकामना समेत दिए । सञ्चारकर्मीले दिएको प्रमुख सुझावमा असोज एक गतेलाई आम दर्शकले सम्झने दिन बनाईयोस् र राष्ट्रिय क्यालेण्डरमा चलचित्र दिवस उल्लेख गरियोस् भन्ने थियो ।
यसैगरि सुझाव दिने क्रममा सञ्चारकर्मीहरूले राष्ट्रिय पुरस्कार पनि चलचित्र दिवसको दिन नै दिए उपयुक्त हुने बताएका थिए । सञ्चारकर्मीको सुझावलाई बोर्डले सकारात्मक रूपमा लिएको अध्यक्ष भण्डारीले बताए । अध्यक्ष भण्डारीले यस बर्ष खासै उल्लेख्य काम गर्न नसके पनि चलचित्र दिवसलाई भव्य बनाउने बताउँदै त्यस दिन चलचित्र पुरस्कारको घोषणा गर्ने बताए । साथै उनले चलचित्र दिवसलाई एकता र सदभावको दिन बनाउन आफूहरूले कोसिस गरेको र त्यसलाई मूर्त रूप दिन सञ्चारकर्मीको ठूलो हात रहेको बताए ।