गत पुष २१ गते पालो पाएर पनि प्रदर्शन हुन नसकेको चलचित्र 'अचानक' अन्तत: शुक्रबारबाट देशव्यापी रूपमा अचानकै प्रदर्शनमा आएको छ । पालो पाएको बेला चलचित्र तयार नभएपछि सरेको चलचित्र 'अचानक' सञ्चारमाध्यममा चलचित्रको राम्रै प्रचारप्रसार हुनु पर्दछ भन्ने मन्यतालाई तोड्दै करिब आठ महिना पछि प्रदर्शनमा आएको हो ।
देशभक्त खनालले निर्देशन गरेको चलचित्र अचानकलाई डिजिटल सिनेमा नेपालले बितरण गरेको हो । निखिल उप्रेती, दिलिप रायमाझी, गौरी मल्ल, जेसिका खड्का, उषा पौडेल, रेजिना उप्रेती, सुनिल थापा, सुनिलदत्त लगायतका कलाकारहरूको अभिनय रहेको सो चलचित्रलाई सरोज शर्माले निर्माण गरेका हुन् । जन्म, प्रेम, बिबाह, बिछोड, द्धन्द्ध, कलह, दुश्मनी, मृत्यु सबै कुरा अचानक हुन्छ, जे पनि हुन्छ थाहै नदिई अचानक हुन्छ भन्ने विषयमा निर्माण भएको चलचित्र तिरुपति पिक्चर्स प्रालिको व्यानरमा निर्माण भएको हो ।
निर्देशक खनालकै कथा रहेको सो चलचित्रमा गीत डा. कृष्णहरि बराल, दिनेश सुवेदी र दयाराम पाण्डे, संगीत महेश खड्का, नृत्य गोविन्द राई, द्धन्द्ध एनबी महर्जन, छायाकन दीपक ढकाल, सम्पादन तारा थापा किम्भेको रहेको छ ।