चलचित्रकर्मीहरूको आफूले निर्माण गरेका चलचित्रको प्रचार प्रसार गर्ने तरिका फरक फरक हुन्छ । यसरी फरक तरिकाले चलचित्रको प्रचार प्रसार गर्ने चलचित्रकर्मी मध्येका एक आकाश अधिकारी पनि हुन् । उनी कहिले समाजसेवी बन्छन् त कहिले मोडल । कसरी हुन्छ उनी र उनको चलचित्रको खबर मिडियासम्म आई पुग्छ ।
केहि महिना अगाडी आकाशले आफूले निर्माण तथा निर्देशन गरेको चलचित्र 'काठमाण्डू' को बिदेशका थुप्रै शहरमा सफलताका साथ रिलिज गरे । चलचित्र रिलिज गरेपछि आएको सबै रकम उनले राखेनन् । समाजसेवीको छबि समेत बनाउन लागेका आकाशले केहि रकम नवलपरासीको एक अस्पतालको निर्माणमा खर्च गरे । उनको उद्देश्य समाजसेवा गर्नु मात्र नभएर चलचित्रको प्रचार प्रसार गर्ने काईदा पनि थियो ।
उनको प्रचार प्रसार गर्ने काईदा बिहिबार पनि देखियो । बिहीबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको फेसन शो कार्यक्रममा आकाश मोडल बनेर र्याम्पमा उत्रे । उनीमात्र आएको भए पनि चलचित्रको प्रचार प्रसार भयो भनेर भन्न मिल्थेन । जब कार्यक्रममा 'काठमाण्डू' चलचित्रकी अभिनेत्री संयुक्ता राणा पनि देखिईन् तब बुझियो कि आकाशले आफ्नो चलचित्रको प्रचार प्रसार गर्दैछन् भनेर ।
स्पिड मिडियाले आयोजना गरेको फेसन विथ म्युजिकल प्रोग्रामसमा आकाश र संयुक्ता र्याम्पमा उत्रेका थिए । इस्टकोट, कालो जिन्स पेन्ट र सेतो सर्टमा देखिएका आकाशले आफ्नै चलचित्रको प्रचारका लागि संयुक्तालाई र्याम्पमा उतारेका हुन् । र्याम्पमा संयुक्ता पिंक रंगको वान पिस लगाएर प्रस्तुत भएकी थिईन् ।
स्मरण रहोस् संयुक्ता नेपाली चलचित्र प्रति खासै रूचि नदेखाउने महिला हुन् । तर पनि चलचित्र 'काठमाण्डू' को कथाबस्तुले मन छोएर अभिनय गरेको उनको कथन थियो । सायद चलचित्रको कथा मन परेको भएर पनि होला यस्ता कार्यक्रममा नदेखिने संयुक्ता यस चलचित्रको प्रचारमा दिल खोलेर प्रस्तुत भएकी छिन् । यसलाई राम्रो संकेत मान्न सकिन्छ ।