नेपाली चलचित्रकर्मीहरूका लागि ठूलो चाड भनिएको राष्ट्रिय चलचित्र दिवस भव्य रूपमा मनाईंदै छ । नेपाल चलचित्र विकास बोर्डको पहलमा पहिलो पटक मनाईन लागिएको सो यस चलचित्र दिवस मनाउने क्रममा बिहान प्रभातफेरी र्याली र कोणसभाको आयोजना गरियो । र्यालीमा चलचित्रसंग सम्बन्धित संघसंस्था, चलचित्रकर्मी र सञ्चारकर्मीको उल्लेख्य सहभागीता रहेको थियो ।
बिहान करिब आठ बजे तिर राजधानीको कमलादी स्थित प्रज्ञा भवनबाट सशस्त्र प्रहरीको व्यान्ड बाजा सहित र्याली निकालिएको थियो । नेपाली चलचित्रका गीतहरूको धुन बजाउँदै सशस्त्र प्रहरीको व्यान्ड टोली अघि अघि थियो भने चलचित्रसंग सम्अलचिबन्धित संघसंस्थाको व्यानर बोकेर हिडेका चलचित्रकर्मीहरू पछि पछि थिए । र्याली कमलादी, पुतलीसडक, बागबजार हुँदै रत्नपार्कको शान्ति बाटिका पुगेको थियो ।
शान्ति बाटिकामा पुगेर कोणसभामा परिणत भएपछि चलचित्रसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधीले दिवस मनाउन पाउँदा खुसी व्यक्त गरे । सभामा उपस्थित केहि चलचित्रकर्मीले दिवस मनाउनु राम्रो भए पनि चलचित्रको विकासका लागि पहल समेत गर्नु पर्ने बताएका थिए । उनिहरूले दिवसलाई भन्दा बढि चलचित्रको विकासमा समय दिनु पर्ने बताएका थिए ।
कार्यक्रममा नयाँ पुस्ताका कलाकारहरूको खासै उपस्थित नदेखिए पनि पुराना पुस्ताका कलाकारहरूको उल्लेख्य सहभागिता रहेको थियो । उमेरले नेटो काटिसकेका पुराना चर्चित कलाकारहरू हरि प्रसाद रिमाल, कल्याणी रिमाल, जयनन्द चन्द ठकुरी, पवन मैनाली, भिम बहादुर गुरूङ, दिपक ढकाल, चैतन्य देबी, भुवन चन्द, सुभद्रा अधिकारी, बसुन्धरा भुषाल, मदनकृष्ण श्रेष्ठ लगायतका उपस्थित थिए ।
चलचित्र दिवस मनाउने क्रममा चलचित्र विकास बोर्डले आफ्नै कार्यालयमा अर्न्तक्रिया कार्यक्रमको आयोजना गर्यो भने साँझ ६ बजे बसन्तपुरमा दिपावलीको आयोजना गर्यो । दिपावलीमा मैन बत्ति बालेर 'राष्ट्रिय चलचित्र दिवस २०६८' लेखिएको थियो । सो कार्यक्रममा पनि चलचित्रकर्मीहरूको उल्लेख्य सहभागिता थियो । तर दिपावली गरिसके पछि भुकम्प आउदा सबै चलचित्रकर्मी भागाभाग गरेका थिए ।