चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' को डबिङ बिहिबारबाट शुरू गरिने भएको छ । मंगलबार पुजा गरेर डबिङ शुरू गर्ने तयारी भए पनि प्राबिधिक कारणले गर्दा बिहिबार मात्र डबिङ गर्ने निर्माण पक्षले बताएको छ । चलचित्रको डबिङ नायक आर्यन सिग्देलबाट शुरू गरिंदै छ ।
'कस्ले चोर्यो मेरो मन' डेब्यू तथा सोही चलचित्रबाट डिजिटल अवार्डमा नवनिर्देशकको अवार्ड हात पारेका निर्देशक शबिर श्रेष्ठले निर्देशन गरेको चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' को डबिङ महाराजगंज स्थित रेड स्टुडियोमा गरिने छ । डबिङसँगै चलचित्रको व्याकग्राउन्ड म्युजिकको पनि काम भईरहेको छ । चलचित्रका संगीतकार दिनेश सुनामले नै व्याकग्राउन्ड म्युजिक गर्दैछन् । माघ महिना तिर सार्वजनिक गर्ने लक्ष्यका साथ चलचित्रको काम धमाधम अगाडी बढिरहेको निर्देशक श्रेष्ठको भनाई छ ।
केपि फिल्म्सको व्यानरमा कृषा चौलागाईंले निर्माण गरेको चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' मा आर्यन सिग्देल, दिप्ती गिरी, संदिप सापकोटा, शिशिर राणा, दिनेश डिसी, दिनेश थापा, धिरेन शाक्य, कमला रेग्मी, रमेश थापा, टार्जन लगायतले अभिनय गरेका छन् । सबै मिल्ने केटाकेटी व्वायफ्रेण्ड र गर्ल फ्रेण्ड हुँदैनन् । उनीहरू असल साथी मात्र पनि हुनसक्छन् भन्ने मूल भाव बोकेर निर्माण गरिएको सो चलचित्रमा शिब ढकालको छायाँकन, समन अधिकारीको नृत्य, दिनेश सुनामको संगीत, प्रमोद ढुंगानाको गीत रहेको छ भने चलचित्रको कथा शिबम् अधिकारीले लेखेका हुन् ।