भजनशिरोमणी भक्तराज आचार्यका आँखा बुधबार निकै रसाए । आफ्ना जीवनका आरोह अवरोहलाई नजिकबाट नियाल्ने मौका पाएका भक्तराज आचार्यको मनमा खुसी देखिए पनि कता कता पिडाको आभास पनि उनमा देखिन्थ्यो । उनका मात्र हैन उनलाई नजिकबाट नियाल्ने मौका पाएका अधिकांश मानिसको आँखा रसाएर आएका थिए ।
कुरा यिनै भजनशिरोमणी भक्तराज आचार्यको जीवनमा बनेको चलचित्र 'आचार्य' को हो । बुधबार साँझ सुन्धारा स्थित सिभिल मलमा गरिएको आचार्यको प्रिमियरमा आफ्नै जीवनलाई नजिकबाट नियालेका भक्तराजको साथमा उपस्थित दर्शकहरूका आँखा आँशुले भरिएर आएका थिए । भक्तराजलाई नजिकबाट नियाल्ने मौका नपाएका दर्शकहरू तथा उनका शुभचिन्तकहरूले चलचित्र हेरेपछि भक्तराजको यथार्थता जान्ने मौका पाएका हुन् । उनले जीवनमा भोगेका कठिनाईहरू हेरेर दर्शकहरू भावविह्वल भएका थिए ।
आफ्नै जीवनकथा हेरेपछि भावविह्वल भएका भक्तराज चलचित्रबाट खुसी हुँदै छोराले गरेको अभिनयको तारिफ गरे । आफूसँग भएका गुणहरू छोरामा पाएकोले भक्तराज निकै खुसी हुँदै भने, 'सत्यले मेरो कथा माथी ९० प्रतिशत न्याए गरेको छ ।' चलचित्रमा आफ्ना जीवनका सबै आरोह अवरोहहरू प्रस्तुत गर्न नसकिएको बताउँदै भक्तराजले पूर्ण जीवनी तयार गर्दा १० घन्टाको लामो फिल्म बन्ने बताए । निर्देशक प्रशान्त रसाईलीलाई बिशेष धन्यवाद दिंदै भक्तराजले एक पटक चलचित्र 'आचार्य' हेरिदिन सबैलाई आग्रह समेत गरे ।
कथामा ट्विस्ट ल्याउन केहि दृश्यलाई हेरफेर गरिएको भएपनि चलचित्रले जीवनको मुख्य पाटोलाई राम्रोसँग उठान गरेको भक्तराजको भनाई थियो । यता आफ्नै पिताको जीवन कथामा अभिनय गरेका सत्यराज आचार्यले बुवालाई अनुभव गराउन सके जस्तो लागेको बताए । उनले भने, 'बुवासँग नै बसेर चलचित्र हेरें । बुवाले निकै ध्यान दिएर चलचित्र हेर्नु भयो र हरेक दृश्यमा उहाँका आँखा रसाएका थिए । त्यसैले मैले उहाँको कथामा न्याय गर्न सकें भन्ने लागेको छ ।' चलचित्रको प्रिमियरमा उपस्थित सबैले सत्यको अभिनयको तारिफ पनि गरे ।
सिल्करुटको ब्यानरमा निर्माण गरिएको ‘आचार्य’ लाई रोशन राईले निर्माण गरेका हुन् । सत्यराजको साथमा अरुणा कार्की, सुनिल पोखरेल, सौगात मल्ल, गुलाम अली, अरूण रेग्मी लगायतले अभिनय गरेको सो चलचित्रलाई प्रशान्त रसाईले निर्देशन गरेका हुन् । चलचित्र 'आचार्य' यहि शुक्रबारबाट देशभरका थुप्रै सिनेमा घरमा चल्दैछ ।