चलचित्र 'च्यालेञ्ज' लिएर अमेरिका उडेका रेश मरहठ्ठा सुटुक्क नेपाल आईपुगेका छन् । आफ्नै होम प्रोडक्सनको चलचित्र 'च्यालेञ्ज' प्रदर्शन गर्न अमेरिका पुगेका रेश प्रशन्न पौडेलले निर्देशन गर्ने चलचित्र 'मेरो बेस्ट फ्रेन्ड' मा अभिनय गर्न उनी नेपाल आएका हुन् ।
चार दिन अघि मात्र नेपाल आईपुगेका रेश बुधबार चलचित्र 'आचार्य' को प्रिमियरमा देखिए । अचानक किन नेपालमा भन्ने प्रश्नमा रेशले केहि दिनमा छायाँकनमा जान लागेको चलचित्र 'मेरो बेस्ट फ्रेन्ड' का लागि हतार हतार आउनु परेको बताए । च्यालेञ्जलाई अमेरिकाका थुप्रै शहरमा रिलिज गर्ने योजनामा साथ त्यता हानिएका रेशले सुटिङले गर्दा रिलिज गर्न नपाएको बताए ।
एक हलिउड चलचित्रमा समेत अनुबन्धित भएका रेशले प्रशन्नको चलचित्र 'मेरो बेस्ट फ्रेन्ड' र दिवाकर भट्टराईको चलचित्र 'मेरो जीवन साथी' मा अभिनय गरेपछि मात्र अमेरिका फर्केर 'च्यालेञ्ज' रिलिज गर्ने बताए । 'च्यालेञ्ज' को रिलिज सँगसँगै हलिउड चलचित्रमा पनि अभिनय गर्ने उनको भनाई थियो । चलचित्र 'च्यालेञ्ज' छिट्टै नै नेपालमा पनि रिलिज हुँदैछ ।
श्याम भट्टराईले निर्देशन गरेको सो चलचित्रमा रेशको साथमा रेखा थापा, आयुष रिजाल, खुस्बु न्यौपाने, बिएस राणाको साथमा केही बिदेशी कलाकारको पनि मुख्य भुमिका रहेको छ । चलचित्रलाई रेश र माधब ढकालले मिलेर निर्माण गरेका हुन् ।