नायक जीवन लुईटेल अहिले अष्ट्रेलियामा छन् तर उनको मन भने नेपालमा छ । करिब एक महिनाको भ्रमणमा निस्केका जीवन अष्ट्रेलियामा खासै रमाउन नसकिरहेको बताउँछन् । कारण उनका दुई चलचित्र एक-आपसमा भिड्दै छन् ।
दशैंको अवसर पारेर जीवनले मुख्य भुमिका निर्वाह गरेका दुई चलचित्र 'अन्दाज' र 'म तिम्रो भईसकें' एकसाथ मोफसलका सिनेमा घरमा रिलिज हुँदैछ । कति शहरमा यि दुई भिड्दै छन् भने कति शहरमा सिङगल स्क्रिनमा रिलिज हुँदैछन् । सबै सेलिब्रेटी आफ्नो चलचित्र रिलिज हुँदा खुसी हुन्छन् तर जीवनको मन भने त्यति खुसी छैन रे ! अष्ट्रेलियाबाट फिल्मीखबरसँग कुरा गर्दै जीवनले आफू अभिनित दुई चलचित्र एकसाथ भिड्नु आफ्नो लागी दु:खको कुरा भएको बताए ।
'नाइ नभन्नु ल', 'दिपशिखा' जस्ता चलचित्रबाट राम्रै प्रशंसा पाएका जीवन दु:खी हुनुको अर्को मुख्य कारण दुबै चलचित्रको रिलिजमा उपस्थित हुन नसक्नु पनि हो । उनी भन्छन्, 'मेरा दुई चलचित्र एकसाथ रिलिज हुँदैछन् तर म त्यसको प्रत्यक्ष प्रतिक्रिया लिन नपाउने भएँ । त्यसैले मेरो मन अहिले खुसी छैन ।' हुन पनि हो पछिल्लो समयमा चलचित्र क्षेत्रमा राम्रो स्थान पाउन सफल भएका यि नायकलाई दुई चलचित्र एकसाथ भिड्दा चुनौती थपिएको छ ।
हुनत अहिले यि दुबै चलचित्रको चर्चा राम्रो छ । दुबै चलचित्रका गीतसंगीतले बजार पिटी रहेका छन् । तर पनि चलचित्रलाई दर्शकले कुन हदसम्म रूचाउने हुन् र जीवनलाई कति हद सम्म आत्मसाथ गर्ने हुन् त्यो हेर्न बाँकी नै छ । हामी आशा र कामना मात्र गर्न सक्छौं कि चलचित्रले राम्रो व्यापार गरोस् । दर्शकको मन जितेर निर्माताको खल्ती भरिदियोस् अनि कलाकारलाई तालिको बर्षा होस् । दुबै चलचित्रलाई हाम्रो शुभकामना तर चलचित्र चल्ने नचल्ने दर्शक भरोसा ।