नायिका नम्रता श्रेष्ठले चलचित्र 'स्नो फ्लावर्स' बाट आफूलाई निकालेको खबरको खण्डन गरेकी छिन् । बुधबार एक सार्वजनिक कार्यक्रममा भेटिएकी नायिका नम्रताले केहि समय अगाडी मिडियामा आफूलाई 'स्नो फ्लावर्स' बाट निकालेको नभई आफू नै काम गर्न इच्छुक नभएको बताईन् ।
सुवर्ण थापाले निर्देशन गरिरहेको चलचित्र 'स्नो फ्लावर्स' मा नम्रतालाई अतिथी भुमिकामा राख्ने बताईएको थियो तर नम्रताले सो चलचित्रमा अभिनय गर्ने कुरा धेरै पछि थाहा पाएको र आफूसँग समय नभएकाले नगरेको उल्लेख गरिन् । उनले भनिन्, 'म सुटिङका शिलशिलामा पोखरामा थिएँ यता मलाई लिने योजना बनाउनु भएको रहेछ । अहिले मलाई निकालेको भन्ने सुन्दा अचम्म लागेको छ । वास्तवमा मलाई निकालेको हैन म नै काम गर्न नखोजेको हो ।'
यता निर्देशक थापाले पनि नम्रतालाई निकालेको कुराको खण्डन गरे । इन र आउटको कुरा नै नभएको भन्दै निर्देशक थापाले नम्रताको समय अनुकुल नमिलेपछि विकल्प खोजेको फिल्मीखबरलाई बताए । मिडियामा आएको कुरामा सत्यता नभएको भन्दै थापाले नम्रतालाई शुरूमा नै राम्रोसँग कुरा गरेर लिन लागेको बताउँदै भने, 'उनी जस्तो कलाकारलाई निकाल्नु र राख्नुको नाटक गर्नु नै हाम्रो बदनाम हुनु हो । हामीले सम्झौतामा नै कुरा गरेर मेनुका प्रधानलाई लिएका हौं ।'
महिला समलिंगी अर्थात ‘लेस्बियन’ प्रेमलाई मुख्य कथाबस्तु बनाएर निर्माण गरिएको सो चलचित्रमा निशा अधिकारी, दिया मास्के, सौगात मल्ल, लक्ष्मी गिरी, भारती घिमिरे, बीएस राणा लगायतको अभिनय रहेको छ । करिब ६० % छायाँकन सकिएको सो चलचित्रको दशैं अगाडी प्याकअप हुने निर्देशक थापाको भनाई छ ।