शुक्रबार साँझ नक्साल स्थित अनमोल क्याटरिङमा एक जमघटका विच चलचित्र 'मेरो लभ स्टोरी' को अडियो विमोचन गरियो । चलचित्रको निर्माण युनिट तथा कलाकारको साथमा केहि सञ्चारकर्मीको उपस्थिती रहेको सो अडियो विमोचनमा भने केहि गाईजात्रे पन देखियो ।
पहिलो गाईजात्रा त कार्यक्रम निर्धारित समय भन्दा अढाई घण्टा ढिला शुरू भयो । पानीमा भिज्दै भिज्दै कार्यक्रम स्थल पुगेका सञ्चारकर्मीहरूलाई अढाई घन्टा सम्म कुराउँदा सबैले अल्छि मानिसकेका थिए । तर बाध्यता समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरू कसरी रित्तै फर्कनु ? बाध्य भएर कार्यक्रम शुरू होला भन्दै कुरेर बसे । धन्न नेपाली सञ्चारकर्मीहरूमा धैर्य गर्न सक्ने क्षमता छ र हो नत्र कार्यक्रम ढिला शुरू हुँदा हल खाली हुन बेर लाग्थेन ।
कार्यक्रम ढिला शुरू हुनुको मुख्य कारण भने गीत तथा प्रोमो राखिएको हार्डडिक्समा समस्या आउनु थियो । युनिटले कार्यक्रममा चलचित्रका गीत तथा केहि प्रोमो देखाउन चाहेको थियो तर सकेन । हार्डडिक्समा समस्या आएपछि सञ्चारकर्मीलाई अढाई घण्टा कुराएर अर्को पुन: गीत कपि गर्न पठाईयो । तर दुर्भाग्य फेरि पनि गीत देखाउन सकिएन । आवाज बिनाको प्रोमो मात्र देखाएर चित्त बुझाउन बाध्य भयो युनिट । अडियो बिमोचन पश्चात केहि बेर कुराएर गीत देखाउने कोसिस गर्दा पनि युनिट सफल हुन सकेन । सञ्चारकर्मीहरूले पनि अत्ति भएपछि नहेर्ने भन्दै हल्ला खल्ला गर्न थाले पछि युनिटले सो कार्यलाई बन्द गर्यो । यसरी लामो समय कुराएर पनि गीत देखाउन नसकेपछि युनिटका सदस्यहरू केहि लज्जित देखिएका थिए ।
अडियो बिमोचन भन्ने बित्तिकै गीतकार, संगीतकार तथा गायक गायिकाको नाम आउँछ । तर दु:खको कुरा सो कार्यक्रममा एक जना मात्र गीतकार भुपेन्द्र खड्का देखिए । कार्यक्रममा न त संगीतकारलाई देख्न पाईयो न त गायक गायिकालाई नै । हुनसक्छ निमन्त्रणा गरेर पनि उनीहरू उपस्थित हुन सकेनन् । तर पनि अडियो बिमोचनमा यसरी संगीतकर्मी नदेखिंदा कार्यक्रम खल्लो देखिएको थियो । अझ भुपेन्द्र खड्काले त आफ्नो नाम लिएको सुनेनछन् कि क्या हो आफ्नो नाम नलिएको भन्दै दु:ख प्रकट गरेका थिए ।
खैर जे होस् अडियो बिमोचन ढिलै शुरू भए पनि छिटो भने सकिएको थियो । अरू कार्यक्रममा जस्तो यस कार्यक्रममा भाषण बाजी भने भएन । उपस्थित चलचित्रका युनिटले अडियो बिमोचन गरे र सबैजना चलचित्रका सुमधुर संगीतको साथमा कक्टेल पार्टीमा सहभागी भए । चिसो चिसो मौसममा तातो तातो भएर चलचित्रकर्मी र सञ्चारकर्मीहरू आफ्नो गन्तव्य तर्फ लागे ।
सुदर्शन थापा निर्देशित सो चलचित्रमा प्रमोद खरेलको संगीत रहेको छ । चलचित्रमा समावेश ४ गीतमा तीन गीत प्रमोद खरेल र एक गीत भुपेन्द्र खड्काले लेखेका हुन् । यसैगरी ति चार गीतमा सनुप पौडेल, प्रमोद खरेल, सुवानी मोक्तान र सबनम गुरूङको स्वर सुन्न सकिने छ । चलचित्रलाई प्रभुशमसेर जबराले निर्माण गरेका हुन् । दशैंमा रिलिज हुने सो चलचित्रमा आर्यन सिग्देल, ऋचा शर्मा र बिनय श्रेष्ठको मुख्य भुमिका रहेको छ । चलचित्रलाई सुनिल मानन्धरले बितरण गरेका हुन् ।