नेपालीहरुको ठुलो चाड दशैं आउन धेरै दिन बाँकि छैन । चारैतिर दशैंको चलपहल शुरू भएको छ । नेपाली चलचित्र क्षेत्रमा पनि दशैंको चलपहल राम्रै सँग चलेको छ । दशैंको बेला नेपाली चलचित्र उद्योगमा प्रदर्शनको भिडन्त हुनु नौलो बिषय हैन । क्यालेन्डरमा एक दिन रातो मसिले पोतेको गतेमा त चलचित्र प्रदर्शन गर्न तम्सिने यस उद्योगका चलचित्रकर्मीहरु दशैंको बिदा खान त झन् ठुलै दाउ छोप्छन् । यो वर्षको दशैंमा पनि तीन ठुला ब्यानर र चर्चित कलाकारहरूको भिडन्त हुँदैछ ।
दशैं आउन केहि दिन बाँकि रहँदा अहिले सोह्र श्राद्ध चलिरहेको छ । अधिकांश चलचित्रकर्मी यो समयलाई अफ सिजनको रुपमा लिन्छन् । यो बेला सकभर कोहि पनि आफ्नो चलचित्र रिलिज गर्न चाहदैनन् । तर दशैंको मुखमा भने चलचित्र रिलिज गर्न निर्माताहरू हानथाप गर्छन् । यसले दर्शकलाई फाईदा पुर्याउला तर निर्मातालाई भने पक्कै फाईदा पुर्याउँदैन । दशैंमा धेरै चलचित्र रिलिज हुँदा दर्शकले छानि छानि चलचित्र हेर्न पाउने भएकाले उनीहरूलाई दशैं मज्जाले लागेको हुन्छ तर बिचरा निर्माताहरूलाई भने दशा नै लाग्छ । कारण सबै चलचित्र हेर्न मन हुँदाहुँदै पनि दर्शकले हेर्न सक्दैनन् ।
बिशेषत भाद्र महिनाको दोस्रो साता यता पूर्वमा प्रदर्शनमा आएका चलचित्रले निकै कमजोर व्यापार गरेका छन् । नेपाली सिनेमाको लागि देशकै महत्वपूर्ण स्टेसनको रुपमा चिनिएको धरानमा बिगत भाद्र २३ यता प्रदर्शनमा आएका चलचित्र पूर्ण रुपमा असफल भएका छन् । यो मिति यता प्रदर्शन भएका चलचित्रले ५ दिन भन्दा बढी हलमा आफुलाई टिकाई राख्न असफल भएका छन् ।
धरान बाहेक पूर्वका अन्य स्थानहरुमा पनि यो समयमा चलचित्रको व्यापारमा शून्यता छाएको छ । अचानक नै प्रदर्शनमा आएको चलचित्र अचानकले पनि असफलताको नमिठो स्वाद चाख्यो । हुनत भाद्र महिनामै प्रदर्शन भएका सपना, सौभाग्य, श्रीमान श्रीमती, ब्रेक फेल, मेरो राजेश दाई, मोस्ट वान्टेड लगायतका चलचित्रहरुले पनि बिदाको दिन बाहेक अरु दिन सोचे अनुरूपको दर्शक बटुल्न सकेनन् । यहि शुक्रबारबाट पूर्वका डिसिएन जडित हलहरुमा आचार्य र क्यूब सर्भर मार्फत राज प्रदर्शनमा आएका छन् । यी चलचित्रहरुको वास्तविक रिपोर्ट १-२ दिनमै थाहा हुनेछ ।
यसरी अफ सिजन मानिएको यो समय वास्तविक रुपमै पूर्वका हलहरुमा लागु भएको छ । यो वर्ष दशैंमा रिलिज हुन लागेका चलचित्रहरुको चर्चा राम्रो भएकोले दशैंको बिदामा राम्रै कलेक्सन हुने आशा हल व्यवासयी एवं वितरकले गरेका छन् । केहि वर्ष यता ठुला ब्यानरका चलचित्रहरुले समेत दशैंमा राम्रो व्यापार गर्न नसकिरहेको अवस्थामा यो दशैं खाने दाउमा रहेका चलचित्रको नतिजा थाहा हुन अब धेरै दिन बाँकि छैन । आशा गरौं यस बर्षको दशैं दर्शकलाई मात्र नभएर निर्मातालाई पनि लाग्नेछ ।