कोहि नायिका काम नपाएर घरमा बसिरहेका छन् भने कोही डबल सेड्यूलमा काम गरिरहेका छन् । दशैंको मुखमा आएर आराम गर्नु पर्ने बेलामा डबल सेड्यूलमा काम गर्नु व्यस्तताको संकेत नै हो त ?
कुरा नायिका ऋचा सिंह ठकुरीको हो । नाइ नभन्नु ल डेब्यू नायिका ठकुरी पछिल्लो समयमा निकै व्यस्त छिन् । अहिले उनी दुई चलचित्र 'मन पराएँ माया लाएँ' र 'माया गर ल' मा एकसाथ काम गरिरहेकी छिन् । उनी घरि 'मन पराएँ माया लाएँ' को सुटिङमा पुग्छिन् त घरि 'माया गर ल' को । त्यति मात्र हैन उनी प्रदर्शनको तयारीमा रहेको चलचित्र 'म तिम्रो भईसकें' को लागि बिभिन्न एफएमहरू तथा पत्रपत्रिकामा अर्न्तवार्ता दिनमा पनि व्यस्त छिन् ।
केहि दिन अगाडी त सेड्यूल नराम्रैसँग जुधेपछि 'मन पराएँ माया लाएँ' निर्देशक प्रमोद भण्डारी र 'माया गर ल' का निर्देशक मदन घिमिरेले ऋचालाई तानातान नै गरेछन् । उनीहरूले ऋचालाई पहिला आफ्नोमा काम गराउने भन्दै तानातान गरेको बुझिएको छ । यता ऋचा भने निर्माण युनिटले राम्रो प्लानिङ नगरेकाले सेड्यूल जुधेको बताउँछिन् । उनी भन्छिन्, 'एक दिन अलि गार्हो भएको थियो अहिले त सबै कुरा मिलिसकेको छ ।'
प्रमोद भण्डारीले निर्देशन गरेको चलचित्र 'मन पराएँ माया लाएँ' छायाँकनको अन्तिम चरणमा पुगेको छ भने मदन घिमिरेले निर्देशन गरेको चलचित्र 'माया गर ल' को छायाँकन भर्खरै मात्र शुरू भएको हो । यि दुबै चलचित्रमा ऋचा मुख्य भुमिकामा छिन् ।