नेपाल चलचित्र कलाकार संघले बुधबार आफ्नो दशौं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गर्यो । राजधानीको एक रेष्टुरेन्टमा चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीको प्रमुख आतिथ्यमा सो साधारण सभा कार्यक्रम सम्पन्न भएको हो ।
कलाकार संघले बार्षिक साधारण सभा कार्यक्रम गरिरहँदा कलाकारको उपस्थिती भने खासै देखिएन । सो कार्यक्रममा न कलाकार देखिए न सञ्चारकर्मी नै । यसरी कलाकारहरूकै बार्षिक कार्यक्रममा नाम चलेका कलाकारहरूको उपस्थिती नहुँदा सो कार्यक्रम खल्लो बनेको थियो । उपस्थित सबैले यसरी कलाकार संघको कार्यक्रममा कलाकार नै उपस्थित नहुनु लाजमर्दो कुरा रहेको बताएका थिए ।
कलाकार संघमा सयौंको संख्यामा कलाकारहरू सदस्य छन् तर कार्यक्रममा नाम चलेका कलाकार दुई हातका औंलामा मात्र सिमित देखिए । कार्यक्रममा नयाँ पुस्ताका कलाकार नायिका रेखा थापा, ऋचा घिमिरे तथा नायक राजबल्लभ कोईराला मात्र उपस्थित थिए । पुराना पुस्ताका कलाकारमा बसुन्धरा भुषाल, चैतन्य देवी, सुभद्रा अधिकारी, हरिप्रसाद रिमाल, हरिहर शर्मा, मदनदाश श्रेष्ठ, आरपी पन्त, बिजय देउजा, जेनी कुवँर, प्रज्ञा जोशी, दिपाश्री निरौला आदी मात्र उपस्थित थिए ।
यसरी कलाकारकै कार्यक्रममा कलाकार उपस्थिती नहुनु लाजमर्दो कुरा नै हो । अझ लाज मर्दो कुरा के छ भने, व्युटी पार्लर होस् या शो रूम उदघाटन भन्ने बित्तिकै तछाडमछाड गर्दै रिवक काट्न पुगि हाल्छन् हाम्रा कलाकार तर आफ्नै पेशागत हकहितका लागि संगठित संस्थाको बार्षिक साधारण सभा जस्तो गरिमामय कार्यक्रममा भने नाक मुख देखाउँदैनन् । कलाकारहरूले नै त आफ्नो संस्थाको इज्जत गर्न जान्दैनन् भने अरू कस्ले देला इज्जत ? सबै कलाकारलाई चेतना भया !