मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रचण्ड निवासमा कलाकर्मीको गुनासो

फिल्मीखबर, काठमाण्डौ, 2011/09/29

सधैंको पर्दामा देखिने कलाकार बिहिबार एकाबिहानै प्रचण्ड निवास नयाँबजारमा देखिए । आफूहरू सरकारको तर्फबाट पिडित बनेको भन्दै देशका ख्याती प्राप्त कलाकारहरूले पूर्व प्रधानमन्त्री तथा एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को निवास पुगी आफ्ना समस्याहरूको भारी थुपारे  ।

 

चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीको नेतृत्वमा पुगेको उक्त कलाकारको टोलीले मुख्य तीन समस्या प्रचण्ड सामु राखे । सबैले आ-आफ्नो परिचय दिएपछि चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष तथा बरिष्ठ चलचित्रकर्मी यादव खरेलले चलचित्र विकास बोर्डलाई जति सक्दो चाँडो स्वायत्त बनाउनु पर्ने बताए । प्रचण्डले नेपाली चलचित्रको समस्यालाई नजिकबाट बुझ्ने गरेको बताउँदै खरेलले कानुन मन्त्रालयमा पुगेको प्रस्ताविक ऐन तथा बिधेयकलाई सरकारको तर्फबाट जति सक्दो छिटो पास गरेर सहयोग गरिदिन आग्रह गरे ।

 

यस्तै खरेलले प्रचण्डकै पालामा एक करोडको अक्षयकोषको स्थापना भएको स्मरण गर्दै खरेलले चलचित्रकर्मीको सम्मानका लागि थप एक करोडको अक्षय कोषको स्थापना गरिदिए सम्पूर्ण चलचित्रकर्मी आभारी हुने बताए । यता अर्का बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उत्पादन बिनाको बितरण स्थायी नहुने भन्दै आफ्नै आयश्रोतबाट रकम निकासा हुने बाटो निकाल्न सके राम्रो हुने बताए । उनले देशभर बिक्रीहुने चलचित्रको टिकटको न्यूनतम मूल्य छुट्याउने नियम बनाउन पहल गरिदिएमा यसरी रकमका लागि गुहार्न नपर्ने बताए ।

 

चलचित्र कलाकार संघ मुलुककै जेठो संस्था भएको बताउँदै अध्यक्ष रमेश बुढाथोकीले २३ बर्ष देखि चलिआएको कलाकारसंघको आफ्नै जग्गा नभएकोले सरकारी जग्गा मिलाईदिन प्रचण्डलाई आग्रह गरे । यहि कुरालाई थप गर्दै निर्माता संघका महासचिव केशब भट्टराईले सम्पूर्ण चलचित्रको संस्था एकै थलोमा अट्ने गरी चलचित्र ग्रामको स्थापनामा सहयोग पुर्‍याईदिए सहज हुने र सबै चलचित्रकर्मी एकै छाना मुनी बस्न पाउने बताए । निर्माता संघका अध्यक्ष राजकुमार राईले कलाकारलाई नाच्ने र गाउनेको रूपमा मात्र नहेरी राष्ट्रको तर्फबाट सम्मान समेत दिनुपर्ने बताए ।

 

अर्का बरिष्ठ कलाकार हरिहर शर्माले भने अक्षय कोषका लागि पाँच करोड निकासा गरिदिए राम्रो हुने बताए । आपत बिपतमा परेका तथा बिरामी भएका कलाकारलाई आवश्यक सहयोग गर्न नसकेको तितो सत्य रहेको भन्दै पाँच करोडको अक्षय कोषको स्थापना भएमा सहज हुने बताए । हरेक दुई दुई महिनामा सरकार परिवर्तन हुँदा राजनैतिक नियुक्ती हुने विकास बोर्ड र सेन्सर बोर्डका पदाधिकारीले काम गर्न नपाएकाले ति संस्थामा राजनैतिक नियुक्ती नगरी दिन समेत शर्माले आग्रह गरे ।

 

यता बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालले प्रचण्ड माथि ठूलो आश राखेको बताउँदै कलाकारको सम्मानका लागि अहिले अक्षय कोषको स्थापनमा महत्वपूर्ण रहेको बताईन् । यस्तै अर्की कलाकार दिपाश्री निरौलाले दशैं र तीहारको बेलामा देउसी भैली झैं चलचित्रकर्मीको साझा माग लिएर ढोका ढकढक्याउने आएको बताउँदै सहयोगको ठूलो आश राखेको बताईन् । यता द्वन्दनिर्देशक राजेन्द्र खड्गीले विकास बोर्डका अध्यक्ष गणेश भण्डारी अझै पाँच बर्षसम्म बोर्डमा नै राख्ने वातावरण मिलाईदिन आग्रह गरे । चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले उपस्थित चलचित्रकर्मीले राखेका मागलाई दोहोर्‍याउँदै कानुन मन्त्रालयमा पुगेको प्रस्ताविक ऐन तथा बिधेयकलाई छिटो पास गराईदिन आग्रह गरे ।

 

सबैको कुरा सुनेपछि प्रचण्डले यसरी सामुहिक रूपमा आफ्मा मागहरू लिएर आएकोमा खुसी व्यक्त गर्दै मुख्य तीन समस्यालाई प्राथमिकताका साथ समाधान गर्न सरकार र आफ्नो पार्टीको तर्फबाट सक्दो प्रयास गर्ने बताए । ऐन महत्वपूर्ण कुरा रहेकोले सर्वप्रथम यस कार्यलाई अगाडी बढाउने प्रतिबद्वता जनाउँदै प्रचण्डले अक्षय कोषका लागि केहि न केहि रकम निकास गर्ने कुरामा बिश्वास दिलाए । उनले भने, 'तपाईंहरू ढुक्क हुनुस् मैले धेरै थोरै केहि रकम पक्का निकाशा गरिदिने छु ।' चलचित्र र कलाकारहरू मानिसको दिमागसँग खेल्ने भएकाले उनीहरूको सम्मान गर्नु आफ्नो कर्तव्य रहेको बताउँदै प्रचण्डले चलचित्रकर्मीले राखेका समस्याको समाधानका लागि आफू सधैं अग्रसर हुने बताए ।

 

बिहान करिब आठ बजे भेला भएका चलचित्रकर्मीमा चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी, यादव खरेल, मदनकृष्ण श्रेष्ठ, रमेश बुढाथोकी, राजकुमार राई, भुवन चन्द, बसुन्धरा भुषाल, चैतन्य देवी, हरिहर शर्मा, केशब भट्टराई, दिपाश्री निरौला, लक्ष्मण शेष, धिरेन शाक्य, दिपक श्रेष्ठ, राजेन्द्र खड्गी, मौसमी मल्ल, बिजय बस्नेत, चलचित्र पत्रकार संघका अध्यक्ष बिदूर गिरी लगायतका उपस्थित थिए ।