स्वदेश तथा विदेशमा बसोबास गरिरहेका युवा पुस्ताका नेपालीहरूले कसरी आफ्नै संस्कृति बिर्सिरहेका छन् भन्ने विषयमा आधारित रहेर निर्माण गरिएको डिजिटल चलचित्र 'नयाँ पिंढी' आज शुक्रबारबाट रिलिज भएको छ ।
भविन्द्र तामाङद्वारा निर्देशित चलचित्र 'नयाँ पिंढी' मा मोबाइल तथा इन्टरनेटको दुरुपयोगले समाजमा कस्तो विकृत रूप लिइरहेको छ भन्ने तथ्यलाई पनि उजागर गरिएको छ । सिन्धुपाल्चोकको तातोपानी, रसुवा, चितवन तथा काठमाडौंमा छायांकन गरिएको यस चलचित्रमा अनु शाह, ममता प्रधान, विक्रम तामाङ, श्रीदेव भट्टराई, केशव सापकोटा, देवकी लामा आदि कलाकारले अभिनय गरेका छन् ।
अर्जुन नेपाली, नरहरी प्रेमी तथा सरोज प्याकुरेलद्वारा संगीतबद्ध यो चलचित्रलाई छिरिङ लामा र पासाङ लोप्चाङले निर्माण गरेका हुन् । चलचित्रको पटकथा तथा संवाद सरोज प्याकुरेलले लेखेका हुन् । अचानक रिलिज भएको यो चलचित्र राजधानीका करिब आधा दर्जन सिनेमा घरमा चलिरहेको छ ।