सुटिङ सुरू भएको एक साता वित्न लाग्दा पनि आफ्नी नयाँ हिरोईन नआएपछी निर्देशक प्रशन्न पौडेल तनावमा परेका छन् । 'दुई साता अघि नै आउने कुरा थियो तर आउने छाँट देखिएको छैन, प्रशन्नले भने, 'दशैं पछि आउँछु भनेकी छिन् ।'
यस अघि हिरोईन झरना बज्राचार्य नेपाल फर्कने आशमा एक महिना सुटिङ ढिला सुरू गरेका प्रशन्नले झरना नेपाल नफर्कने लक्षण देखेपछी सिक्किमी श्रेया शर्मालाई 'मेरो बेस्ट फ्रेण्ड' मा अनुबन्धित गरेका थिए । आफ्नो दोस्रो चलचित्र 'मेरो बेष्ट फ्रेण्ड' को छायाकंन गत बुधबारदेखि गुपचुपमा सुरू गरेका प्रशन्नले रिप्लेसमा आएकी नयाँ हिरोईनको छाँटकाट पनि उस्तै भएपछी उनी पुनः अर्को तनावमा परेका हुन् ।
अहिले प्रशन्नले रेश मरहठ्ठा र दिवस उप्रेतीको सिनहरूको छायाकंन गरिरहेका छन् । बुझिए अनुसार जन्डिसले च्यापे पछी श्रेया काठमाण्डू आउन पाएकी छैनन् । जसकारण बल्ल-बल्ल सुरू भएको सुटिङको तालिका श्रेयाको स्वास्थ्यले प्रभावित हुने छाँट देखेपछी प्रशन्न आत्तिएका हुन् । यस्तै दशै सुरू भएकाले श्रेया दशै सकिएपछी मात्र काठमाण्डू आउने बताईएको छ ।
दशैपछि पनि श्रेया आईनन् भने त्यो स्थानमा अर्कै हिरोईन अनुबन्धित हुने प्रवल सम्भावना रहेको छ । प्रशन्न भन्छन्, 'अहिले सम्म उनी नआउने कुरा भएको छैन । यो दशैसम्म म पनि पर्खन्छु भएन भने अरू कोही सोचौंला ।'