चलचित्रमा हुने कथाहरू पनि अचम्म अचम्मका हुन्छन् । केही सांगीतिक प्रेमकथा त केही पारिवारिक प्रेमकथा अनि केहि द्वन्दात्मक प्रेमकथा । यस्तै प्रेमकथाहरूको भिडमा अर्को गजबको प्रेमकथामा चलचित्र बनेको छ । जुन चलचित्र आगामी कार्तिक महिनामा रिलिज पनि हुँदैछ ।
निर्देशक ओम प्रतिकले निर्देशन गरेको चलचित्र 'फर्की आऊ' लाई युद्वमा जन्मिएको प्रेमकथाको संज्ञा दिईएको छ । चलचित्र भित्र निकै आरोह अवरोहहरू रहेको सो चलचित्रको स्लोगन 'युद्वमा जन्मिएको प्रेमकथा' राखिएको छ । जसबाट नै प्रष्ट हुन्छ कि यो चलचित्र दु:खान्त प्रेमकथामा आधारित छ । निर्देशक प्रतिककै कथा रहेको सो चलचित्रको बारेमा निर्माण युनिटले अहिलेनै बोल्न चाहेन । निर्माण युनिटका अनुसार चलचित्रको गीतसंगीत तथा प्रोमो सार्वजनिक भएपछि दर्शकले बिस्तारै केहि मात्रमा चलचित्रलाई बुझ्ने छन् र चलचित्र हेरिसके पछि हरेक पक्षको तारिफ गर्नेछन् ।
प्रभात फिल्म्सको व्यानरमा राम पौडेल र बाबुराम दाहालले निर्माण गरेको चलचित्रमा महानायक राजेश हमाल प्रहरी अधिकृतको भूमिका देखा परेका छन् भने नायिका निरूता सिंह उनको अनस्क्रिन जोडीको रूपमा प्रस्तुत भएकी छिन् । यसैगरी चलचित्रमा ओम प्रतिक र सोनिया केसीको पनि मुख्य भुमिका रहेको छ ।
आलोक श्रीको संगीत, राजुबिक्रम थापाको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, बसन्त श्रेष्ठको नृत्य तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको सो चलचित्रलाई सुनिल मानन्धर र केदार पराजुलीले बितरण गर्दैछन् । चलचित्र कार्तिक २५ गते देशभर एकसाथ सार्वजनिक गरिने भएको छ । चलचित्रको थप जानकारी लिनका लागि Farkii Aau को फेसबुक हेर्न सकिने छ ।