जन्म पछी मृत्यु प्रकृतिको नियमनै हो तर अल्पआयुमै कसैले कसलाई गुमाउनुको पिडा भने छुट्टै हुन्छ । हो यस्तै नमिठो पिडा बोक्दै कलाकार हरिबंश आचार्यको यो दशैं वित्ने भएको छ । उनको श्रीमती मिराको गत बैशाख ७ गते अकास्मात निधन भएपछी उनी वितेका ६ महिना देखि कलाकारितामा पनि त्यति सक्रिय छैनन् । श्रीमतीको सम्झनालाई भुलाउन उनी यो दशैमा काठमाण्डूदेखी घेरै टाढा दशै नमनाउने बस्तीमा गएर विताउन चाहान्छन् । जहा उनीसंगै सालो मनोहर अधिकारी जेठा छोरा त्रिलोक उनका अमेरिकी श्रीमती जोय र कान्छा छोरा मोहित पनि संगै हुनेछन् । श्रीमती गुमाएको पहिलो बर्ष मीराको यादले ज्यादा सताएपछी मनबहलाउन टाढाको एकान्त बस्ती उनले रोजेको बुझिएको छ तर यहानै हो भनेर भनिएको छैन । जस अनुरुप पोखरा चितवन वा सगरमाथा बेसक्याम्प सम्म हरिबंशको यात्रा हुने बुझिएको छ । हरिबंशले श्रीमतीको याद भूलाउन बुढानिलकण्ठमा भएको घर बेची तिन महिना देखि बालकोट सरेका छन् । तर घर नयाँ भएपनि मान्छे उही अनि याद त्यहि पूरानो भएपछी उनले अन्त कतै गएर दशैको समय विताउने योजना बनाएका हुन ।
विगतका दशै फर्केर हेर्दा : २०४० मा आधा प्रेम र आधा परम्परागत बिहे गरेका हरिवंशको मीरा नभएको यो पहिलो दसैं हो । यसअघिको दसैंमा फूलपातीको दिनदेखि नै मीराको व्यस्तता बढ्थ्यो- पूजाआज, खानेकुरा पकाउने, आफन्त तथा साथीभाई सत्कार गर्ने लगायतको काममा । 'विजया दशमीको दिन सबैभन्दा पहिले म उनलाई टीका लाउँथें,' हरिवंशले सम्झे, 'उनी खुट्टा समाएर ढोक्न खोज्थिन्, म कहिल्यै पनि खुट्टामा ढोक्न दिन्नथें र प्रेमपूर्वक टाउकोमा हात राखिदिन्थें ।'
हरिवंशको घरमा दसैंको बेला कहिल्यै पनि काटमार भएन र अब हुँदैन पनि । उनका अनुसार मीरा त झन् किनेर ल्याएको आलो मासुको थुप्रो हेर्न पनि डराउँथिन् । 'यति हुँदा हुँदै पनि अरूको खुसीका लागि ऊ निकै मिठो मासुको पकुवा पकाउँथिन्,' हरिवंशले सम्झे, 'धेरै चिल्लो खानु हुँदैन भन्थिन् ।'
यसपटक हरिवंशले मासुको परिकारमा खासै बल पनि गर्ने छैनन् । पिउने पनि खासै बानी छैन, परी नै हाले एक बोटल बियर या एकदुई पेग जति व्हिस्की । 'उनको यादलाई कम गर्न त अरू धेरै नै पिउनुपर्छ,' उनी फेरि भावुक भए, 'यात्रामा मन लागे एकदुई पेग पिउँछु होला ।' मीराको अनुपस्थितिमा घरमा खाना कहिलेकाहीँ हरिवंश स्वयं पनि पकाउँछन्, कहिले सहयोगीले त कहिले छोराबुहारीले । दसैंका लागि चिउरा-चामल पुख्यौली थलो (काभ्रेको शंखु पाटीचौर) बाट आउँछ । 'यसपटक घरैमा नबस्ने भएपछि,' हरिवंशले सुनाए, 'ती चिउरा र चामलको पनि के अर्थ ?'
मीरा दिवंगत भएयता फिल्म/टेलिफिल्ममा उत्ति सारो दत्तचित्त भएर लाग्न सकेका छैनन् उनी । यसबीचमा मनदनकृष्ण श्रेष्ठसँग मिलेर 'गाउँकी तारा' नामक एउटा टेलिफल्ममा हात
हाले । दसैंपछि अर्को नयाँ टेलिफिल्म बनाउने योजना बुन्दै छन् । 'उनी नभएपछि,' ५३ वर्षे हरिवंश फेरि भावुक भए, 'जीवनकै एक टुक्रा नभएको जस्तो महसुस हुँदो रहेछ ।'