अन्य चाडपर्वमा सुनसान नहुने नेपाली रजतपट दशैको द्धादशीको दिन सम्म पनि सुनसान भएको छ । अष्टमीको दिनदेखि सुनसान चलचित्र उद्योग अबको केही दिन सम्म सुनसान हुने पक्का छ । बर्ष दिनमा आएको सवैभन्दा ठूलो चाड बडादशै मनाउन घर पुगेका सिने सेलिब्रटी आउदो सोमबार देखि मात्र राजधानी फर्कने छन् ।
फुलपातिको दिन झापा पुगेकी हिरोईन यूना उप्रेती सोमबार मात्र राजधानी फर्कने छिन् भने झापाकै अर्का हिरो निरज बराल मंगलबार मात्र राजधानी फर्कने छन् । निरज मंगलबार काठमण्डू फर्किएलगत्तै उनी नयाँ प्रोजेक्ट थ्री लभस्र को एक्टिङ तथा डान्स क्लासमा ब्यस्त रहनेछन् । यस्तै एक बर्षपछी गृह नगर पोखरा पुगेका हिरो राजबल्लभ कोईराला पनि सोमबार काठमाण्डू फर्कदैछन् । काठमाण्डू फर्किए लगत्ते उनी 'ए फर अमेरिका'को सुटिङका लागि अमेरिका जाने प्रोसेसमा लाग्ने छन् । उनी तिहारभित्रै अमेरिका उड्ने छन् ।
यसैगरी ए फर अमेरिकाकी अर्कि हिरोईन रेखा थापा पनि माईती घर मोरङ्गको सलकपुर गएकाले उनी पनि पूर्णिमाको अघिल्लो दिन अर्थात सोमबार मात्र काठमाण्डू फर्कनेछिन् । उनी प्रत्येक बर्ष दशैको बेला माईतीघर जाने गर्छिन । उनी पनि काठमाण्डू फर्किए लगत्तै अमेरिका जाने प्रोसेसमा लाग्ने छिन् । यसैगरी दशैमा टिका लगाउन नपाएपनि घर तनहू पुगेकी हिरोईन गरिमा पन्तपनि मंगलबार भित्र काठमाण्डू आईपुग्ने छिन् । उता विराटनगरका अर्का हिरो विमलेश अधिकारी चाहि पूर्णिमा पछी मात्र राजधानी फर्कने मूडमा छन् । विराटनगरबाट फोनमा कुरा गर्दै विलेशले भने 'धेरैपछी साथीभाईको ग्यादरिङ्गमा रमाईरहेको छु त्यसैले अरु भन्दा म फर्कन केही ढिला होला तर कुन दिन हुन्छ फिक्स छैन ।'
यस्तै गत बर्ष र यो बर्षको दशै अमेरिकामा मनाएका महानायक राजेश हमाल एक महिने भ्याकेशनमा रहेकाले उनी भाईटिकाको पर्सी पल्ट मात्र नेपाल फर्कने छन् । यसैगरी धादिङ्ग घर भएकी हिरोईन रेजिना उप्रेती भने आजैबेलुकी सम्म काठमाण्डू फर्कने तयारीमा छिन् र धादिङ्गकै हिरो आयुष रिजाल पनि भोली सम्ममा काठमाण्डू फर्किसक्नेछन् ।