दशै अगाडी नै डिभिडी तथा भिसिडीमा आउने भनिएको थ्रीलर चलचित्र "एक दिन एक रात" प्राविधिक समस्याका कारण बिहिबारबाट मात्र बजारमा आएको छ । हाईटेक ईन्टरटेन्मेन्टले बजार ब्यबस्थापनको जिम्मा लिएको उक्त चलचित्र गत पौष महिनामा रिलिज भएको थियो ।
फाईभ पोईन्ट वान सराउन्ड साउन्ड सिस्टम तथा अंग्रेजी सवटाईटलमा समेत तयार भएको उक्त डीभीडी उच्चस्तरको क्वालिटीमा निकालिएको हाईटेकका अध्यक्ष राजेन्द्र मानन्धरको दावी छ । देव कुमार श्रेष्ठको निर्देशनमा बनेको सो चलचित्र ब्यापारिक दृष्टीकोणमा भने असफल रह्यो तर विदेशमा रहेका दर्शक र सिनेमा हलसम्म नजाने दर्शक लक्षित गरी आफूले डीभीडी ब्यवस्थापनको जिम्मा लिएको मानन्धरको भनाई छ ।
अनुप बराल, कर्म, विनय श्रेष्ठ, दिया मास्के, पुजा लामा मुख्य भूमिकामा रहेको उक्त चलचित्र पूर्णरुपमा भुतप्रेतको कथामा आधारित छ । पछिल्लो समय चर्चामा रहेका चलचित्रहरुलाई डीभीडीमा निकालिरहेको हाईटेकले आउदो साता रेखा फिल्मसको चौथो चलचित्र "हिफाजत" पनि डीभीडीमा सार्वजनिक गर्दैछ । एक दिन एक रातको डीभीडीको मूल्य २ सय ७५ रुपैया कायम गरिएको छ ।