पछिल्लो चलचित्र 'ब्रेकफेल' निर्देशन गरेर चर्चामा रहेका निर्देशक शंकर घिमिरेले पुन: अर्को चलचित्रको निर्देशन गर्ने भएका छन् । कमेडी चलचित्र बनाएका घिमिरेले अब भने पूर्ण कमर्सियल चलचित्र बनाउने भएका छन् ।
नायक बिराज भट्ट, नायिका ऋचा घिमिरे, हरि सिवाकोटी, पुष्कर भट्ट र नवप्रस्तुतीको रूपमा गजु थापालाई लिएर निर्माण गर्ने सो एक्सन प्रधान चलचित्रको छायाँकन जनवरीको दोस्रो साता तिर गरिने निर्देशक घिमिरेले फिल्मीखबरलाई जानकारी दिए । हनि राना र चुनु थापाले निर्माण गर्ने सो चलचित्रको मुहुर्त भने तिहार पछि गरिने भएको छ ।
यस अघि बिष, वीरताको चिनो, ब्रेकफेल र तुलसी जस्ता चलचित्रको निर्माता समेत रहेका घिमिरे यस पटक भने पूर्ण रूपमा निर्देशक भएर काम गर्दैछन् । चलचित्रमा बसन्त सापकोटाले संगीत दिने भएका छन् भने राजुबिक्रम थापाले क्यामरा चलाउने छन् । अहिले चलचित्रको संगित र स्क्रिप्टको काम भईरहेको निर्देशक घिमिरेको भनाई छ ।
यता यिनै निर्देशक घिमिरे आफ्नै होम प्रोडक्सनको चलचित्र 'ब्रेकफेल' लिएर क्यानडा सहित बिश्वका केहि मुलुकको भ्रमणमा निस्कने भएका छन् । आगामी डिसेम्बर महिनामा क्यानडामा हुन लागेको नेपाली चलचित्रको फेस्टिभलमा निर्देशक शंकर र नायिका ऋचा घिमिरे 'ब्रेकफेल' प्रदर्शन गर्न त्यसतर्फ प्रस्थान गर्ने छन् ।
चलचित्र 'ब्रेकफेल' क्यानडा फिल्म फेस्टिभलमा मात्र नभएर अमेरिका, बेलायत, अष्ट्रेलिया, कोरिया लगायतका देशमा पनि प्रदर्शन हुने तयारी भईरहेको निर्देशक घिमिरेले जानकारी दिए ।