बलिउडको आईफा अवार्ड क्यानडाको टोरन्टोमा भए जस्तै नेपाली चलचित्रको प्रोत्साहनका लागि क्यानडाको टोरन्टोमा पहिलो पटक अर्न्तराष्ट्रिय नेपाली चलचित्र महोत्सव हुने भएको छ ।
एक समयका चलचित्रकर्मी हरि सिवाकोटीको सक्रियतामा हुन लागेको सो महोत्सवका लागि सातवटा चलचित्र दर्ता भैसकेका छन् भने करिब दश वटा चलचित्र दर्ता हुने प्रक्रियामा छन् । क्यानेडाबाट कुरा गर्दै सिवाकोटीले हाल दर्ता भएका चलचित्रहरूमा गत भदौ १६ गते रिलिज भएको शंकर घिमिरेको ब्रेकफेल, भुवन केसीको साथी म तिम्रो, त्यसैगरी शिवजी लामिछानेको जलजला, केपी पाठकको मैना, सुभाष गजुरेलको 'यसरी नै आरू फूल्छ', मनोज पण्डित निर्देशित दासढुंगा, अमेरिकी नेपालीद्धारा निर्मित चलचित्रर इष्टमित्र रहेको जानकारी दिएका छन् ।
महोत्सवमा सहभागी चलचित्रलाई पहिलो सिजन अर्न्तगत आउदो डिसेम्बर १५ तारिख देखि १८ तारिख सम्म टोरन्टोको भिसासागा आर्ट काउन्सिलमा विशेष प्रदर्शन गरिने छ भने मार्च १० तारिखमा अवार्ड कार्यक्रम अर्न्तगत कुन चलचित्र अब्बल रह्यो भन्ने निर्णय सार्वजनिक गरिने बताईको छ । पहिलो पटक नेपाली चलचित्रहरूको अर्न्तराष्ट्रिय महोत्सवमा सहभागी हुनका लागि निर्देशक शंकर घिमिरे र ब्रेकफेलकी हिरोईन ऋचा घिमिरे आउदो डिसेम्बर १३ तारिखमा क्यानडा जादैछन् ।
त्यसैगरी अभिनेता भुवन केसी, चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी लगायतका अन्य चलचित्रकर्मी पनि महोत्सवमा सहभागी हुदैछन् । भण्डारी हाल दक्षिण कोरियामा छन् । उनी नेपाल फर्किए लगत्तै टोरन्टोमा हुन लागेको सो महोत्सवका लागि थप चलचित्र छनौट कार्यमा संग्लग्न रहने बताईएको छ । भण्डारीकै पहलमा क्यानडामा नेपाली चलचित्रहरूको महोत्सव पहिलो पटक हुन लागेको हो ।