गैरआवसीय नेपाली संघ एनआरएनमा सर्वसम्मतले अध्यक्षमा निर्वाचित भएका जीवा लामिछानेले नेपाली चलचित्र उद्योगलाई बिकास गर्न सकारात्मक प्रतिक्रया दिएका छन् । चलचित्र निर्माता संघले एनआरएनका नवनिर्वाचित सदस्यहरुलाई बधाई एवं शुभकामना प्रदान गर्न आज काठमाण्डूमा गरेको कार्यक्रममा नवअध्यक्ष लामिछानेले नेपाली चलचित्र उत्थानका लागि आफ्नो तर्फबाट सधै सकारात्मक प्रतिक्रया आउने बताएका हुन् ।
एक दशक अघि निर्माण भएको चलचित्र 'फिलिम' का निर्माता समेत रहेका लामिछानेले निर्माता संघले आज उनलाई बुझाएको तीन बुदे नेपाली चलचित्र सम्बन्धी अवधारणापत्रको प्रस्तावमाथि छलफल गरी चाडै नै कुनै निर्णय सार्बजनिक गरिने प्रतिबद्धता समेत जनाएका छन् । विदेशमा रहदा स्ट्रेशफूल लाईफबाट रिलिफको बाताबरणमा ल्याउन नेपाली चलचित्रले केही हदसम्म सहयोग गरेको भन्दै उनले सम्पूर्ण एनआरएनका तर्फबाट नेपाली चलचित्र उत्थानका लागि सहयोग जारी रहने बताए । तर त्यसका लागि चलचित्र निर्माण क्वान्टीटीमा भन्दा क्वालिटीमा जोड दिएर निर्माण गर्न सम्पूर्ण निर्माताहरुलाई उनको आग्रह थियो ।
कार्यक्रममा निर्माता संघको तर्फबाट तीन बुदे अवधारण पत्र तयार गरी लामिछानलाई हस्तानतरण गरियो थियो । जुन अवधारणपत्रलाई महासचिव केशब भट्टराईले पढेर सुनाएका थिए । अवधारणापत्रमा नेपालमा बनेका उत्कृष्ट चलचित्रहरुलाई विज्ञहरुको टोलीले छनौट गरेपछी अन्र्तराष्टिय वितरणको जिम्मा एनआरएनले गरिदिनु पर्ने, नेपालीहरुको जनसंख्या धेरै रहेको राष्ट्रमा चर्चित चलचित्रकर्मीको उपस्थितमा बर्षमा एक सातासम्म भएपनि चलचित्र महोत्सव गर्नुपर्ने तथा एनआरएनले नेपाली चलचित्र उद्योगको प्राविधिक वा अन्य क्षेत्रमा लगानी गर्न चाहेमा निर्मातासंघले सधै सहयोग गर्ने बिषय समावेश छन् ।
यस्तै बधाई कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष डा. उपेन्द महतोले पनि क्वान्टीटीको भन्दा क्वालिटीलाई स्तरियता दिन उपस्थित निर्माताहरुलाई आग्रह गरेका थिए । चलचित्रमा सब टाईटल समेत समावेस गरिनु पर्ने उनको तर्क थियो । जवाफमा निर्माता संघका अध्यक्ष राजकुमार राईले अहिलेको अवस्थामा नेपाली चलचित्र ब्यावसायिक दृष्टीले नभई सौखको रुपमा ज्यादा निर्माण भैरहेकाले क्वालिटीमा केही कमजोरी भएको भन्दै एनआरएनको तर्फबाट अलिकति सपोट भए मात्र पनि यो क्षेत्रले छोटो समयमा ठूलो फडको मार्ने उनको भनाई थियो ।
नेपालमा ठूलो लगानी गर्न खोजिरहेको एनआरएनको ब्यावसायिक ध्यान नेपाली चलचित्र उद्योगप्रति तान्न तथा उनीहरुको संग्लनता यो क्षेत्रमा होस भन्ने हेतुले आयोजना गरिएको आजको कार्यक्रममा मै हु भन्ने निर्माताहरुको उपस्थिति भने ज्यादै कम थियो । यसैगरी नवनिर्वाचित संघको तर्फबाट महासचिव तथा कोषध्यक्ष पनि बधाई कार्यक्रममा अनुपस्थित थिए ।