एनआरएनको रुची नेपाली चलचित्र उद्योगमा बढाउन चलचित्र निर्माता संघले आज काठमाण्डौमा बृहत कार्यक्रम आयोजना गर्यो । जहाँ हिरो हिरोईनहरुको भन्दा बढि आवश्यकता निर्माताहरूको थियो तर तर भैदियो उल्टो । निर्माताहरु उपस्थित हुनुको साटो बरु उल्टै नायक नायिका उपस्थित भए ।
निम्तो पाएपछी सकेसम्म कुनै पनि कार्यक्रम मिस नगर्ने हिरो राजबल्लभ कोईराला आर्यन सिग्देल, बाबु बोगटी, नायिका नन्दिता केसी तथा स्वेता खड्का कार्यक्रममा उपस्थित थिए । प्रोड्यूसर समेत रहेका श्रीकृष्ण श्रेष्ठ, ऋचा घिमिरे, यस कुमारले उपस्थित जनाएर कार्यक्रमको शॊभा बढेको थियो । एक पक्षले हेर्ने हो भने सो कार्यक्रममा राजबल्लभ, आर्यन, बाबु, नन्दिता, स्वेता उपस्थित हुन त्यति जरूरी थिएन जति निर्माताहरूको थियो तर कलाकार भएको हैसियतमा उनीहरुले आफ्नो नैतिकता बिर्षेनन् र कार्यक्रममा उपस्थिती जनाए । तर उनीहरुलाई स्टार बनाउने प्रोड्यूसरहरु भने आफ्नै कार्यक्रममा उपस्थित नहुदा उनीहरुको नैतिकता कति सम्मको रहेछ भनेर प्रश्न उठाउन सकिन्छ ।
कार्यक्रममा प्रोड्यूसर केशब भट्टराई, शुशिल पोखरेल, रमेशजंग रायमाझी, निर्देशक नीर शाह, शिव रेग्मी, आकाश अधिकारी, सुरज सुब्बा, दीपक श्रेष्ठ, बिजय बस्नेत, सुनिल कुमार थापा, निर्देशक शंकर घिमिरे, नव निर्देशक दिनेश राउत तथा हाल चलचित्र क्षेत्रमा सक्रिय नरहेका निर्देशक राजेन्द सलभ, अभिनेता कृष्ण मल्ल तथा उनकी पत्नी एवं अभिनेत्री शर्मिला मल्ल, महिला निर्माता प्रज्ञा जोशी उपस्थित थिईन् भने संघका सचिव सुरेश दर्पण पोखरेल, निर्वातमान अध्यक्ष अशोक शर्मा, छविराज ओझा, गोपीकृष्ण मुभिजको तर्फबाट पनि प्रोड्यूसर उद्धव पौडेल उपस्थित थिएनन् । चलचित्र निर्देशक समाजको तर्फबाट कार्यसमितिमा रहेका सदस्यहरुको उपस्थिति पनि थिएन । अझ हाँसो लाग्दो कुरा त यो छ कि निर्माता संघका सबै कार्यसमितीका सदस्य उपस्थित भएनन् ।
त्यसैगरी चलचित्र द्धन्द निर्देशक संघको तर्फबाट अध्यक्ष योगेन्द्र श्रेष्ठ, राजेन्द खड्गी, कलाकार संघको तर्फबाट अध्यक्ष रमेश बुढाथोकी, राष्टिय खेलकुद परिषदका सदस्य सचिव तथा चलचित्रकर्मी युवराज लामाले आफ्नो उपस्थिति जनाए पनि चलचित्र संघको तर्फबाट कोही ब्यक्ति देखा परेनन् । अन्य कार्यक्रममा अध्यक्ष राजकुमार पोखरेलको समेत मनसम्मान लिन पछी नपर्ने प्रोड्यूसर समेत रहेका चलचित्र संघका महासचिव प्रदीप उदय पनि आजको कार्यक्रममा उपस्थित थिएनन् । जवकी उनीजस्ता सक्रिय फिल्ममेकर यस्ता कार्यक्रममा उपस्थिति हुन जरुरी थियो ।
निर्माता संघले आज आयोजना गरेको उक्त बधाई एव शुभकामना कार्यक्रम झारा टराई थिएन । सो कार्यक्रम नेपाली चलचित्र उद्योगको श्रीबृद्धी गर्न चालिएको एउटा महत्वपूर्ण कदम थियो जुन कदमलाई मुक्त कण्ठले तारिफ गर्न सकिन्छ । किनकि विदेशमा रहेका नेपालीहरुको सवैभन्दा धनी संघका रूपमा चिनिने एनआरएन पदाधिकारीहरुलाई संघले स्वागत गरी नेपाली चलचित्र उद्योग विकास गर्ने कुरामा उनीहरुको तर्फबाट प्रतिबद्धताको शब्द झार्न सफल भयो ।
हाम्रो दृष्टीकोणले अनुपस्थित निर्माताहरुलाई गाली गर्न खोजिएको हैन तर नेपाली दर्शक हलमा गएनन् भनेर रामराम भन्दै हिड्ने अनि निर्माता संघले आफ्नो ब्यापार विश्वब्यापीकरण गर्नका लागि आयोजना गरेको बृहत कार्यक्रममा अनुपस्थित हुदा तपाई निर्माताहरुको नैतिकतालाई प्रश्न गर्न हामी बाध्य भएका हौ । यदि हातमा निमन्त्रणा कार्ड नपुगेर तपाई कार्यक्रममा उपस्थित हुन नसक्नु भएको भए त्यो बिषय निर्माता संघ नै जानोस तर निमन्त्रणा कार्ड पुगेर पनि कार्यक्रममा अनुपस्थित हुनु भएको हो भने तपाईंहरू चलचित्रको विकासमा चिन्तित हुनुहुन्न भन्ने हामीलाई लागेको छ ।