नेपालमा गणतन्त्र स्थापना भएको यति लामो समय बितिसक्दा सम्म पनि शान्ति प्रक्रिया टुंगोमा पुग्न सकेको छैन । देशमा अझै पनि द्वन्दको अवस्था छ । जनता अझै पनि त्रशित छन् । यि यस्तै बिषयबस्तुमा आधारित रहेर निर्माता राम पौडेल र बाबुराम दाहालले चलचित्र 'फर्कि आऊ’ को निर्माण गरेका छन् ।
देशमा शान्ति कायम हुनुपर्छ भन्ने मूल भाव बोकेको यस चलचित्र यही कात्तिक २५ गते देखि देशव्यापी रिलिज हुँदैछ । महानायक राजेश हमाल, निरुता सिंह, ओम प्रतिक, राम पौडेल, सोनिया केसी, गणेश उप्रेतीलगायत कलाकारहरुको अभिनय रहेको यो चलचित्रको कथावस्तु प्रहरी प्रशासन र बिद्रोही समूह बीचको द्वन्द्वमा बढी घुमेको छ ।
चलचित्रमा महानायक हमाल प्रहरीको भूमिकामा रहेका छन् भने उनको विपक्षीमा राम पौडेल बिद्रोही समूहको लिडरको रुपमा रहेका छन् । चलचित्रमा हमालकी श्रीमतीको भूमिकामा नायिका निरुता सिंह रहेकी छिन् । नायक हमाल लामो कपालले दर्शकमाझ निकै प्रख्यात छन् । तर उनले 'फर्कि आऊ’ मा कपाल काटेका हुनाले चलचित्र यसैपनि चर्चामा छन् । दर्शकहरू पनि राजेशलाई छोटो कपालमा हेर्न आतुर रहेको बुझिएको छ ।
यसका साथै नायिका निरूता सिंहलाई लामो समय पछि पर्दामा देख्न पाइने भएको छ । उनलाई पनि दर्शकहरू हेर्न आतुर नै छन् । ओम प्रतिकको कथा तथा निर्देशन रहेको यस चलचित्रको छायांकन पूर्वको चाइना बोर्डर नजिकैको वलेफी, नगरकोट, तेलकोट, पोखराको धुम्पुस लगायतका स्थानहरुमा गरिएको छ । कात्तिक २५ गते देखि देशभर एकैसाथ ५४ हलहरुमा रिलिज हुन यस चलचित्रको वितरणको जिम्मा उपत्यकामा सुनिल मानन्धर, पूर्वमा मनोज राठी र पश्चिममा केदार पराजुलीले लिएका छन् ।