गैरआवसीय संघ एनआरएनका नवनिर्वाचित अध्यक्ष जीवा लामिछाने नेपाली चलचित्रका पूराना निर्माता हुन् । उनले एक दशक अघि मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यसँग मिलेर चलचित्र 'फिलिम' बनाएका थिए । जुन राम्रो कलेक्सन बटुल्न सफल चलचित्र मध्येको एक पनि हो ।
युवाकालमा धेरै फिल्म हेरेर आफै फिल्म निर्माण गर्न अग्रसर भएपछी लामिछानेले महजी फिल्मस स्थापना गरी चलचित्र 'फिलिम' बनाएका थिए । जुन चलचित्रको गीत 'साझा बसमा जो पनि चढ्दछ किलिण्डरले दुई रूपैयाको टिकट काट्दछ...' भन्ने अझै लोकप्रिय छ । झण्डै एक दशक पछी पुनः चलचित्रकर्मीको भीडमा देखिएका लामिछानेले नेपाली चलचित्रको तीता मिठा प्रसंगको बारेमा पुनः बुझ्ने मौका पाए ।
एक दशक पछी फिल्मी कार्यक्रममा एनआरएन अध्यक्ष भएर उपस्थित भएका लामिछानेलाई ब्यक्तिगत रूपमा पुनः फिल्म बनाउने तपाईको योजना छ कि छैन ? भन्ने फिल्मीखबरको प्रश्नमा उनले भने, 'तत्काल मेरो त्यस्तो योजना छैन, यदि बनाईहाले पनि महजोडीसँगै मिलेर बनाउनेछु । जुन चलचित्र पनि फिलिम जस्तै सुपरहिट हुनेछ ।'
कार्यक्रममा अध्यक्ष जीवा मदनकृष्णसँग केहि बेर कुराकानी गरेका थिए तर हरिवंशलाई कार्यक्रममा नदेख्दा भने आफू दु:खी भएको जीवाको भनाई थियो । जे होस् बिदेशमा रहेर नेपाली चलचित्र प्रतिको मोह अझै पनि कायम राखेका अध्यक्ष लामिछानेलाई बिशेष धन्यवाद दिंदै राम्रो चलचित्र निर्माण गर्न समेत फिल्मीखबर बिशेष आग्रह गर्दछ ।