दिवाकार भट्टराई जो पर्दा पछाडी फिल्मका क्याप्टन अर्थात निर्देशकले भनेको काम मानिरहन्थे र क्याप्टेनलाई को-पाईलट सरह आफ्नो नयाँ विचारको सल्लाह पनि उनले दिन्थे । जसकारण उनी सक्रिय भै काम गरेका आधा दर्जन चलचित्र सफल पनि भएका उदाहरण छन् ।
दिवाकारले पहिलो पटक चलचित्र 'डर' मा प्रदीप श्रेष्ठको साहायक निर्देशक भएर काम गरे । त्यसपछी रेखा फिल्मसको चलचित्र 'किस्मत' मा उज्जवल घिमिरेको साहायक भएर उनी देखिए जुन चलचित्र सफल चलचित्रको लिष्टमा पनि छ । यसैगरी इतिहास, ईज्जतदार, दीदीभाई तथा रोज राणाको दुई सफल प्रोजेक्ट डन र खलनायकमा पनि उनले साहायक भएर आफ्नो दक्षता देखाए जुन दक्षतालाई मुल्याकन गर्दै दृश्य सम्पादक जीवन टण्डन र यमन म्यूजिकका निर्देशक सूर्य कार्कीले पहिलो प्रोजेक्ट 'मेरो जीवन साथी' निर्देशन गर्न उनलाई लायक ठाने । जुन चलचित्र आउदो कात्तिक ३ गते देखि छायाकंनमा जादैछ ।
चलचित्र निर्माणको क्रममा पहिलो धर्म र कर्म अनुरुप यस चलचित्रको यूनिटले आज प्रेस मिट गरी छायाकंनका लागि फ्लोरमा जाने बिषयमा सम्पूर्ण जानकारी दियो । यमन म्यूजिकको प्रस्तुतीमा निर्माण हुन लागेको दिवकारको डेब्यू चलचित्रमा राजेश हमाल, रेखा थापा, रेश मरहठ्ठा, सुष्मा कार्की, रागिनी खड्गी, नव प्रस्तुतीमा शिवन पोखरेल, संगीता क्षेत्री, सुपी थापा, विष्णु सापकोटा लगायत प्रमुख भूमिकामा रहने बताईएको छ ।
चलचित्रमा अर्जुन पोखरेललको संगीत समावेश गरिएको कार्यक्रममा जानकारी दिईयो । संगीतकार पोखरेलले निर्देशक भट्टराई चलचित्रका संगीतकार पनि भएको अर्को रहस्य खोल्दै चलचित्रका तीन गीतमा आफ्नो संगीत र बाँकी दुई गीतमा दिवाकरको संगीत रहेको बताए । पूर्ण ब्यावसायिक फर्मूलामा निर्माण गरिन लागिएको प्रेमकथानक उक्त चलचित्रमा हिमाल केसी द्धन्द निर्देशकको रुपमा अनुबन्धीत भएका छन् भने कविराज गहतराज, शंकर विसी र अर्जुन विसीले नृत्य निर्देशक भै काम गर्ने बताईएको छ । यसैगरी छायाकंनको जिम्मा रामेश्वर कार्कीले पाएका छन् ।
करिब डेढ बर्ष अघि नै निर्माण गर्ने भनिएको सो चलचित्रको बारेमा बोल्दै निर्देशक भट्टराईले भने, 'स्क्रिप्टलाई हामीले अझै होमवर्क गर्ने ठान्यौं र डेढ बर्ष पश्चात राम्रो स्क्रिप्ट तयारी गरी फिल्म निर्माण गर्न लागेका हौ ।' स्क्रिप्टमा पटकथा सम्वाद सञ्चारकर्मी सामिप्य तिमल्सिनासंग मिलेर निर्देशक भट्टराईले स्वयम लेखेका हुन् । तर कथा भने प्रोड्यूसर जीवन टण्डनको हो ।
पछिल्ला समय नयाँ प्रोडयूसरहरुको संख्या बृद्धी हुने क्रममसंगै यो चलचित्रमा पनि दुई निर्माता नवप्रवेशीका रुपमा देखा पर्न लागेका हुन् । पछिल्लो समय फिल्मी विजनेस चौपट भैरहेका बेला आफूले भने सवै कुरालाई ध्यान दिदै बुझेर मात्र फलामको च्यूरा चपाउन आएको चलचित्रका निर्माता सूर्य कार्कीले बताए । उनले भने, 'संगीत क्षेत्रमा त मेरो दश बर्ष वितिसक्यो जुन अनुभवले पनि म फिल्मी क्षेत्रमा लगानी गर्न उत्सुक भएको हुँ ।'
निर्माता देखि अधिकांश कलाकार र प्राबिधिक नयाँ अनुबन्धीत भएको सो चलचित्रको नाम भने सन् १९७२ मा भारतमा निर्माण भएको विनोद खन्ना अभिनित चलचित्र 'मेरे जिवन साथी' संग मेल खाएको छ । यसैगरी २००६मा पनि भारतमै बनेको अक्षय कुमार अभिनित सोही टाईटलको अर्को चलचित्र पनि छ । विश्वास गरौ कि राम्रा सहायक निर्देशक भएर कहलिएका भट्टराईले चलचित्रको नाम जुधाए पनि कथा जुधाउने छैनन् । शुभकामना !