पछिल्लो समय नेपाली चलचित्रको स्तरियता बृद्धीसँगै चलचित्रसँग सम्बन्धित कार्यक्रमहरूमा पनि विविधता आएको छ । फिल्म निर्माणका लागि पूर्व जानकारी दिन राखिएको प्रेस मिट होस् वा सुटिङ सकिए पछिको इन्डक्ल्याप पार्टी वा चलचित्रको प्रोमोसनको पहिलो कदम स्वरूप सार्वजनिक गरिने फष्ट लुक अझ भनौ फिल्म रिलिजको केही दिन अघि गरिने प्रिमियर शोको रौनकले नेपाली सिने उद्योग बेला बेलामा चर्चामा रहिरन्छ ।
चलचित्रको सवैभन्दा ठूलो जमघट हुने प्रिमियर शोमा सिने उद्योगका प्राय सवै चलचित्रको उपस्थितिले पनि प्रिमियर शोले दिनानुदिन आफ्नो उचाई बनाईरहेको छ र यो उचाई सँगसँगै आज मंगलबार भएको चलचित्र मसानको प्रिमियर शो भने अलि भिन्नै थियो । प्राय प्रिमियर शोमा चलचित्रकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति हुने गर्छ तर आजको प्रिमियरमा भने त्यस्तो देखिएन । चलचित्रकर्मीहरू र सञ्चारकर्मीहरूको कमै उपस्थिती भए पनि कुमारी हल खाली थिएन ।
प्रिमियरमा कुमारी सिनेमा हलको सिटहरू चलचित्र क्षेत्र भन्दा अन्य क्षेत्रका विशिष्ट ब्यक्तिको उपस्थितिले खचाखच थियो । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री जेपी गुप्ता देखि बरिष्ठ लेखक खगेन्द्र संग्रौला तथा सञ्चारक्षेत्रमा कहलिएका विजय कुमार पाण्डेको पनि उपस्थिति थियो । मन्त्री गुप्ताले मसानको पोष्टर अनवारण गरेका थिए । पोष्टर अनवारण पश्चात गुप्ताले कृति मसान जस्तै यो सिनेमा पनि कालजयी हुनेमा विश्वास ब्यक्त गरे ।
बरिष्ठ चलचित्रकर्मी नीर शाहले निर्देशन गरेको सो चलचित्र २००२ मा साहित्यकार गोपाल प्रसाद रिमालले रचना गरेको कृति 'मसान' मा आधारित छ । जसमा राजबल्लभ कोईराला, केकी अधिकारी, नीता ढुङ्गाना, सुभद्रा अधिकारी, केशव भट्टर्राई, श्याम र्राई लगायतका कलाकार मुख्य भूमिकामा छन् । अमेरिकामा रहेको कम्पनी रिमाल इन्टरप्राईजेज र नीर सिनेमामाको प्रस्तुतीमा निर्माण भएको सो चलचित्रलाई साहित्यकार गोपाल प्रसाद रिमालका भतिजा अरूण रिमालले निर्माण गरेका हुन् ।
कार्यक्रममा बोल्दै निर्माता रिमालले भने, 'नेपाली साहित्य तथा कलालाई सिनेममा उतार्ने प्रयास स्वरूप मसान चलचित्र निर्माण गरेको हूँ ।' रिमाल इन्टरप्राईजेजले एक दर्जन बढी कृतिमा आधारित सिनेमा बनाउने लक्ष्य लिएको छ । चलचित्र आउदौ कात्तिक १८ गते देखि रिलिज हुने बताईएको छ । प्रिमियरमा चलचित्रकर्मीको कम उपस्थितिले होला सायद अन्य प्रिमियर शो भन्दा आजको केही शान्त थियो ।