नेपाली चलचित्र क्षेत्रका मुर्धन्य व्यक्ति बरिष्ठ निर्देशक दिपक रायमाझीको गएराती आकस्मिक निधन भएपछि चलचित्र निर्माता संघले आजको दिन चलचित्रको सुटिङ बन्द गर्न आग्रह गरेको छ ।
ढिला भएका कारण निर्माता संघ आधा दिन भए पनि बन्द गर्ने बताउँदै संघका अध्यक्ष राजकुमार राईले फ्लोरममा रहेका सम्पूर्ण चलचित्रको सुटिङ बन्द गर्न आग्रह गरेका छन् । सम्पर्कमा आए जति सबै चलचित्रको सुटिङ बन्द गर्न फोन मार्फत नै आफूले आग्रह गरेको बताउँदै राईले भने, 'सम्पर्कमा नआएका सिनेमाहरूको पनि सुटिङ बन्द गर्न आग्रह गर्दछु ।'
नेपाली चलचित्र उधोगले एक बिशिष्ट चलचित्रकर्मी गुमाउनु पर्दा निकै दु:ख लागेको बताउँदै अध्यक्ष राईले यस दु:खद घडीमा सोकाकुल परिवारमा तथा चलचित्रकर्मीमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै संघको र आफ्नो व्यक्तिगत तर्फबाट दिवँगत आत्माको चिर शान्तिको कामना सहित हार्दिक समवेदना प्रकट गरेका छन् । यसैगरी सम्पूर्ण चलचित्रसँग सम्बन्धित संघसंस्था र चलचित्रकर्मीहरूले पनि हार्दिक समवेदना प्रकट गरेका छन् ।