करिब डेढ महिनाको अष्ट्रेलिया भ्रमण पश्चात नायक जीवन लुईटेल नेपाल ओर्लीएका छन् । गत भाद्र १८ गते आफू अभिनित चलचित्र 'म तिम्रो भईसकें' को प्रदर्शन गर्न र आफ्नी जीवनसंगिनीलाई भेट्न अष्ट्रेलिया पुगेका जीवन मंगलबार राती नेपाल आईपुगेका हुन् ।
दशैं र आफ्नो जन्मदिन अष्ट्रेलियामा नै सेलिब्रेट गरेका जीवनले फिल्मीखबरसँग कुरा गर्दै यसपटकको अष्ट्रेलिया भ्रमण निकै रमाईलो भएको बताए । यस अघि 'नाइ नभन्नु ल' चलचित्रको प्रिमियरका लागी अष्ट्रेलिया पुगेका जीवनले त्यो बेला भन्दा अहिलेको भ्रमण रोचक रहेको बताए । उनले भने, 'हुनत मेरो पहिलो अष्ट्रेलिया भ्रमण पनि निकै अविश्मरणिय बनेको थियो तर पनि अहिले भ्रमण अझ बिशेष रह्यो ।'
असोज २८ गते अष्ट्रेलियाको मेलबर्न शहरमा चलचित्र 'म तिम्रो भईसकें' को शो निकै राम्रो भएको बताउँदै जीवनले नाइ नभन्नु ल भन्दा यस चलचित्रलाई दर्शकले बढि मन पराउने बिश्वास व्यक्त गरे । उनले भने, 'जतिले चलचित्र हेरे सबैले तारिफ गरे ।' अबको केहि दिनमा चलचित्र अष्ट्रेलियाका अन्य शहरमा पनि प्रदर्शन गरिने जीवनको भनाई छ । चलचित्रको प्रदर्शनको जिम्मा सोलाङचरले लिएको छ ।
नेपाल ओर्लिए लगत्तै जीवन अब मधुसुदन भट्टराईले निर्देशन गर्ने चलचित्र 'ब्ल्याक मेल' मा व्यस्त हुनेछन् भने प्रदर्शनको क्रममा रहेका दुई चलचित्र 'मलाई मन पर्यो' र 'मालतीको भट्टी' को प्रोमोशनमा पनि व्यस्त हुनेछन् ।