नयाँ जोश र जाँगरका साथ युवाहरूको सक्रियतामा निर्माण गर्न लागिएको चलचित्र 'मेरो जीवन साथी' को बिहिबार बिहान शुभमुहुर्त गरियो । राजधानीको मैतिदेवी स्थित मन्दिरमा पुजाआजा गरि चलचित्रको मुहुर्त गरिएको हो । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका उपाध्यक्ष बिमल पौडेल, डिजिटल सिनेमा नेपालमा महाप्रबन्धक अशोक शर्माको साथमा केहि चलचित्रकर्मीको उपस्थितीमा सो चलचित्रको मुहुर्त गरिएको हो ।
निर्माता संघका अध्यक्ष राईले मुहुर्तको निर्देशन गरे भने डिसिएनका महाप्रबन्धक शर्माले क्ल्याप सट दिए । त्यसैगरी समाजका उपाध्यक्ष पौडेलले नरिवल फुटाए । चलचित्रको मुहुर्तसँगै आजैबाट सुटिङ पनि शुरू गरिएको छ । युवानिर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने सो चलचित्रको आजै चोभारमा द्वन्दको छायाँकन भईरहेको छ । हिमाल केसीले चलचित्रका नायक र खलायकलाई चोभारको डाँडामा लडाउदै छन् ।
यमन म्युजिकको व्यानरमा दृश्य सम्पादक जीवन टण्डन र यमन म्यूजिकका निर्देशक सूर्य कार्कीले संयुक्त रूपमा निर्माण गर्न लागेको सो चलचित्रमा अभिनय गर्ने अधिकांश कलाकार नयाँ रहेका छन् । चलचित्रमा राजेश हमाल, रेखा थापा, रेश मरहठ्ठा, सुष्मा कार्की, शृजना बस्नेत, रागिनी खड्गी, शिवन पोखरेल, संगीता क्षेत्री, सुपी थापा, विष्णु सापकोटा, ईश्वर बल्लभ उप्रेती, लुसन खान, नबिन पौडेल, उदय श्रेष्ठ, दोर्जे लामा लगायतले अभिनय गर्दैछन् ।
चलचित्रमा अर्जुन पोखरेल र निर्देशक स्वयंको संगीत समावेश गरिएको छ । पूर्ण ब्यावसायिक फर्मूलामा निर्माण गरिन लागिएको प्रेम कथानक उक्त चलचित्रमा कविराज गहतराज, शंकर विसी र अर्जुन विसीले नृत्य निर्देशक भै काम गर्ने छन् भने छायाँकन रामेश्वर कार्कीले गर्दैछन् ।