द्वन्द पीडित र भारतमा बेचिएकी नेपाली चेलीवेटीको बारेमा आधारित रहेर निर्माण गरिएको चलचित्र 'हाम्री चेली' लाई सेन्सर बोर्डले 'पिजी' सर्टिफिकेट दिएको छ । यसकारण यो चलचित्र हेर्न बालबालिकाहरू आफ्ना अभिभावकसँग सिनेमा हल पुग्नुपर्ने छ ।
चलचित्रको बुधबार बेलुका सेन्सर गरिंदा बोर्डका सदस्य तथा उपस्थित व्यक्तिहरूले चलचित्रले राम्रो कथाबस्तु समेटेको बताएको भन्दै छायाँकार तथा प्राबिधिक निर्देशक मनिष पन्थले भने, 'बोर्डका सदस्यहरूले चलचित्र मन पराउनु भयो र बिशेष चलचित्रको लागि विकास बोर्डमा पहल गर्न समेत सल्लाह दिनुभयो ।' बोर्डका सदस्यहरूले नै चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएपछि पन्थ निकै दंगिएका छन् ।
श्रीनगर फिल्म्स प्रालि, बुटवलको व्यानरमा सिड्स नेपालको प्रस्तुती रहेको सो चलचित्रलाई मिन प्रसाद श्रेष्ठले निर्माण गरेका हुन् । बाबुराम घिमिरेको निर्देशन रहेको सो चलचित्रमा शित्तल केसी, अञ्जु निरौला, रमेश विसी, कुमारी परियार, गिरीप्रसाद पुन, कुलचन्द्र पुरी लगायतको अभिनय रहेको छ । निर्देशन घिमिरेको लेखन, कस्तुप पन्त र सुरेस सेन्चुरीको संगीत तथा मनिष पन्थको छायाँकन रहेको सो चलचित्रमा बुटवल, पाल्पा, पोखरा, सुनौली तथा भारतको नौतनवा, गोखरपुर लगातयका स्थान समेटिएको छ ।
बेचिएका चेलीको उमेर ढल्कँदै वा रोगले ग्रस्त भएपछि वेश्यालयबाट निकालिएपछि अपलत्र पर्दाको पीडालाई 'हाम्री चेली' मा नजिकबाट देखाउने प्रयास गरिएको बताउँदै निर्देशक घिमिरेले चलचित्रको रिलिज डेट भने फिक्स भईनसकेको बताए । उनका अनुसार पहिला देशका बिभिन्न स्थानमा चलचित्रको च्यारिटी गर्ने र त्यसपछि मात्र चलचित्र रिलिज गरिने छ ।