कुनै समयका चर्चित नायक रमित ढुंगाना अहिले भने हराउन थालेका छन् । तर नायक रमित यो कुरालाई स्विकार्दैनन् । हरेक ६/६ महिनामा नेपाल र अमेरिका गर्ने रमित अझै पनि आफ्नो डिमाण्ड भईरहेको बताउँछन् ।
केहि दिन अघि मात्र अमेरिकाबाट नेपाल ओर्लेका रमितले फिल्मीखबरसँग कुरा गर्दै भने, 'नयाँ पुस्ताहरूको हाबि भएपनि हाम्रो पुस्तालाई दर्शकहरूले अझै खोजिरहेका नै छन् । त्यसैले दर्शकहरूको मायालाई ख्याल गर्दै म हरेक छ महिनामा नेपाल आउने गर्दछु ।' नेपाल बसाईको क्रममा उनले अफर आए चलचित्रमा अभिनय गर्ने इच्छा व्यक्त गरेका छन् । हुनत उनी आफै चलचित्र निर्माणमा लागेका छन् तर पनि अफर आए अरूको प्रोजेक्ट गर्ने रमितको भनाई छ ।
भगवान बुद्वको बारेमा चलचित्र निर्माण गर्दैछु भन्ने रमित अहिले सो चलचित्रका लागि सुरेश अधिकारीले संगीतको काम गरिरहेको बताउँछन् । उनी भन्छन्, 'सुरेश दाईले संगीतको काम गर्दै हुनुहुन्छ । म भने अझै पनि रिसर्चमा नै व्यस्त छु ।' चलचित्र 'माया नमार' बाट अभिनय र निर्माणमा एकसाथ हात हालेका रमितले बुद्वको बारेमा चलचित्र बनाउन त्यति सहज नभएको बताए ।
चलचित्रको कथा अमेरिकासँग पनि सम्बन्धित रहेकाले रमित सो चलचित्रको सुटिङ नेपाल र अमेरिकामा गर्ने तयारीमा छन् । उनका अनुसार अब छिट्टै नै चलचित्रको सुटिङ शुरू गरिने छ । अहिले उनी स्क्रिप्टमा नै छन् भने कलाकार पनि छनोटकै क्रममा छन् । उनी अब भने यस चलचित्रलाई टुंगोमा लगाएर मात्र अमेरिका फर्कने योजनामा छन् ।