नेपाली चलचित्रहरूको व्यापार ठप्प भईरहे पनि कलाकर्मीहरू भने सम्मानित हुन छाडेका छैनन् । राजधानी तथा राजधानी बाहिर बिभिन्न संघसंस्थाहरूले कलाकार तथा प्राबिधिकहरूलाई बेला बेला सम्मान गर्ने गरेका छन् । यसै क्रममा शुक्रबार पनि नेपाली चलचित्र क्षेत्रमा बिशेष योगदान पुर्याए वापत करिब एक दर्जन कलाकार सम्मानित भए ।
फ्याबुलस डान्स ट्रेनिङले आयोजना गरेको 'सम्मान साँझ ०६८' मा नायिका रेखा थापा, नन्दिता केसी, नायक आर्यन सिग्देल, बाबु बोगटी, यश कुमार, निर्माता संघका अध्यक्ष राजकुमार राई, संघकै महासचिव केशब भट्टराई, निर्माता तथा सञ्चारकर्मी जयप्रकाश रिजाल, द्वन्दनिर्देशक राजेन्द्र खड्गी, हाँस्यकलाकार महादेव त्रिपाठी लगायत सम्मानित भए ।
निर्माता संघका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा नायिका रेखा थापा र राजेन्द्र खड्गी उपस्थित भएनन् बाँकी सबै कलाकार उपस्थित भएर सम्मान ग्रहण गरे । नायिका थापा आफू उपस्थित हुन नसके पछि आफ्नी दिदी तारा रानालाई प्रतिनिधि बनाएर पठाएकी थिईन् । उनकी दिदीले केहि बर्ष अगाडी रेखालाई प्रदान गरिएको राष्ट्रिय पुरस्कार पनि ग्रहण गरेकी थिईन् ।
सम्मानित भएपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथी बनेका राईले उपस्थित दर्शकहरूलाई नेपाली चलचित्र हेरिदिन आग्रह गरेका थिए । उनले भनेका थिए, 'नेपाली चलचित्रलाई आफ्नै चलचित्र सम्झेर हेरिदिनु होला । तपाईंहरूले नेपाली चलचित्रलाई माया गर्नु भयो भने हामी राम्रा चलचित्र बनाउँदै जानेछौं ।' कार्यक्रममा उपस्थित कलाकारहरूले आफूहरू सम्मानित हुन पाउँदा खुसी भएको कुरा व्यक्त गरेका थिए । यसैगरी कार्यक्रमा सम्मानित हाँस्यकलाकार महादेव त्रिपाठीको प्रस्तुतीले दर्शकहरू पेट मिचिमिचि हाँसेका थिए ।