गत बर्ष यता हरेक साता दुई देखि तीन चलचित्र एकआपसमा नभिडेको रेकर्ड छैन । चलचित्र निर्माणमा बाढि आउनु र प्रदर्शनको सिस्टम नहुनुले यसरी चलचित्र एकआपसमा भिड्नुको विकल्प नरहेको हो । सबै निर्मातालाई चलचित्र चलाउन हतार हुन्छ र त्यो स्वाभाविक पनि हो । तर चलचित्र भिडाएर फाईदा कस्लाई त ? सायद उत्तर छैन होला ।
बरिष्ठ चलचित्रकर्मी निर शाहका अनुसार चलचित्र निर्माणमा नै ब्रेक लागेमा मात्र निर्माताको भलो हुनेछ । उनी भन्छन्, 'यहाँ क्यू सिस्टम भन्दै निर्माताहरू बर्षौं देखि पालो कुरेर बस्छन् । पहिला चलचित्र निर्माणमा क्यू सिस्टम बनाऔं अनि पालो कुर्नु पनि पर्दैन र निर्माता डुब्नु पनि पर्दैन ।' नाईटो झर्न नपाएकाले चलचित्र बनाउन थालेपछि पनि अहिले यो अवस्था आएको शाहको भनाई छ ।
शाहका अनुसार बर्षमा बढिमा १५ वटा चलचित्र बन्नु पर्छ र प्रदर्शन पनि बढिमा १५ वटा नै हुनुपर्छ अनि मात्र हरेक चलचित्रकर्मीको भविष्य उज्ज्वल हुन्छ । उनी भन्छन्, 'अब प्रदर्शनमा क्यू सिस्टम लगाउने हो र चलचित्र निर्माणको मापदण्ड तोक्ने हो भने दुई बर्षमा भित्रमा नै यस उधोगको मुहार फेरिने छ ।' आफूले चलचित्र बनाई हाले बर्षमा एउटा मात्र चलचित्र बनाउने बताउँदै शाह अरू निर्माता निर्देशकलाई पनि बर्षमा एउटा मात्र चलचित्र बनाउन आग्रह गर्छन् । उनी भन्छन्, 'बरू होम ओर्क गर्नुस्, राम्रो कथा तयार पार्नु तर फिल्म बनाउन हतार नगर्नुस् ।'