फिल्म रिलिजको समयमा सम्बन्धित कलाकारहरूले प्रोमोशनमा वास्ता नदिनुले पनि नेपाली दर्शक सिनेमा हलसम्म नजानुको एउटा प्रमुख कारण बनेको छ । पछिल्लो समय नयाँ पुस्ताका कलाकारहरूले आफ्नो पब्लिसिटी सहित फिल्मको प्रोमोशनमा रूची देखाए पनि ओल्र्ड इज गोल्ड भनिने कलाकारहरूले फिल्मको प्रोमोशनमा रूची नदेखाएको देखिन्छ । जसको जल्दो बल्दो उदाहरणका रूपमा आज काठमाण्डूमा भएको चलचित्र 'मलाई मन पर्यो' को प्रेस मिटलाई लिन सकिन्छ ।
मंसिर २ गते देशब्यापी रूपमा सार्वजनिक हुने भनिएको सो चलचित्रको प्रेस मिटमा आयोजकले हिरोईन निरूता सिंहलाई विशेष निमन्त्रणा दिएको थियो । तर उनी सो कार्यक्रममा अनुपस्थित भईन् । यस्तै उनलाई निर्माता रमेशजंग रायमाझीले उपस्थिति भै कार्यक्रमको शोभा बढाईदिन उनलाई पटकपटक फोन गरेका थिए तर सो फोनको कुनै रेस्पोन्स नभएपछी निरूताले आफूहरूलाई धोका दिएको रमेशजंगको आरोप छ ।
निरूता गत बुधबार सिलगुढीबाट काठमाण्डू आएकी थिईन् । उनको 'मलाई मन पर्यो' सहित 'फर्कि आऊ' र 'द गेम' गरी तीन वटा फिल्म रिलिजको संघारमा छन् । उनी फिल्मको प्रोमोशनमा सघाउन नेपाल आएको भनिए पनि सिलगुढीमा रहेका भाईबुहारीलाई राजधानी घुमाउन उनी काठमाण्डू आएको निरूता निकट स्रोतले दावी गरेको छ । उनी जे कारणले नेपाल आए पनि कार्यक्रमा उपस्थित हुन्छु भन्ने बाचा गरेर उपस्थित नहुनु पक्कै पनि राम्रो कुरा हैन ।
यस्तै उनी अभिनित चलचित्र 'फर्कि आऊ' पनि यहि कात्तिक २५ गतेदेखि देशब्यापी रिलिज हुने बताईएको छ । सो फिल्मको प्रेस मिट पर्सी मंगलबारलाई तय गरिएको थियो तर निरूता विना जानकारी सिलगुढी फर्किएपछी सो चलचित्रका निर्माता बाबुराम दाहाल पनि तनावमा छन् । जसकारण उनले मंगलबारको प्रेसमिटलाई तिहारपछी पोष्टपोण्ड गरेका छन् ।
'रमेशदाईले आज बिहान मलाई फोन गरेपछी मैले पनि निरूता जीलाई कल गरे तर उहाँले बोकिरहेको फोनको कुनै रेष्पोन्स आएन । त्यसैले उहाँले मलाई पनि धोका दिनु भयो', बाबुरामले भने, 'मेरो हिरो राजेश हमाल अमेरिकामा रहेकाले उहाँ पनि नभएपछी मैले कसरी मंगलबार प्रेस मिट गर्ने ? तर निर्माता रायमाझीले भने निरूताको अनुपस्थितिलाई राजनीतिको रूपमा चित्रण गरेका छन् । उनले भने, 'मेरो फिल्मको प्रोमोशनमा बाधा पुर्याउन कसैले गेम खेलिराछ ।' तर त्यो गेम कसले खेल्यो भन्ने बिषयलाई उनले प्रष्टाउन चाहेनन् । तर उनको संकेत 'फर्कि आऊ' को टिम तर्फ नै थियो । किनकी बाबुराम र निरूता सिंहको सम्बन्ध दीदीभाईको जस्तो निकट पनि छ ।
'मलाई मन पर्यो' मा निरूता प्रमुख भूमिकामा छिन् जहाँ हिरो राजबल्लभ कोईराला र जीवन लुईटेल पनि मुख्य भूमिकामा छन् । अष्ट्रेलियाको एक महिने बसाई पछी पहिलो पटक फिल्मी जमघटमा देखिएका जीवन र राजको यो दोस्रो चलचित्र हो । उनीहरूले कृषा चौलागाईको चलचित्र 'कसम हजुरको' मा संगै अभिनय गरेका थिए ।
कार्यक्रममा सो चलचित्रको अडियो लन्च गरिएको थियो । अडियो लन्च समारोहमा गीती सिडीलाई फिल्मका सम्बन्धीत सदस्यहरूले विमोचन गर्ने प्रचलन भएपनि निर्माता रायमाझीको छोरी साल्भिका र भतिजी साभरागीले गरेका थिए । साल्भिका सो चलचित्रमा बालकलाकारको भूमिकामा पनि छिन् । चलचित्रमा शम्भुजीत बास्कोटाको संगीत समावेश छ ।
निर्देशक शिव रेग्मी निर्देशित अधिकांश चलचित्रमा सहायक निर्देशक भएर अनुभव संगालेका भद्र भुजेलले सो चलचित्रलाई डेब्यू फिल्मको रूपमा निर्देशन गरेका हुन् । प्रेमकथामा आधारित सो चलचित्रमा सम्पूर्ण फिल्मी मसाला प्रयोग गरिएको निर्माण पक्षले जानकारी गराएको छ । चलचित्रमा हिमाल केसीले द्धन्द निर्देशन गरेका छन् भने कविराज गहतराज, शंकर विसी, बसन्त र प्रदीप श्रेष्ठको कोरियोग्राफी समावेश छ ।