मंसिर महिनामा रिलिज हुने भनिएको चलचित्र 'प्लान' मा अभिनय गरेका तीन नायिकाहरू रागिनी खड्गी, अनुष्का ढकाल र अनिता दाहाल नयाँ नै हुन् । त्यसैले पनि दर्शकहरूलाई उनीहरूको बारेमा त्यति धेरै ज्ञान नभएको हुनसक्छ ।
रागिनीको त यो डेब्यू चलचित्र नै हो भने अनिताले यसअघि 'सायद' नामक चलचित्रमा अभिनय गरेकी छिन् तर सो चलचित्र रिलिज भईनसकेकाले उनका लागि यो चलचित्र बिल्कुलै नयाँ हो । यता अनुष्कालले अभिनय गरेको चलचित्र 'मजबुर' र 'शन्त्रास' रिलिज भएकै छैन । त्यसैले पनि 'प्लान' का लागि यि तीन नायिका फ्रेस अनुहार हुन् ।
कुरा गरौं यि तीन नायिकाको रिलेशनको । नायिका रागिनी खड्गी द्वन्दनिर्देशक राजेन्द्र खड्गीकी छोरी हुन् भने अनिता दाहाल नायक दिलिप रायमाझीकी साली हुन् । यस्तै नायिका अनुष्का ढकाल नायक मुकेश ढकालकी बहिनी पर्छिन् । आफ्नै बहिनी नभए पनि भोजपुर जिल्लाको एउटै गाउँ भएको र बाजेहरूको नाताबाट आफ्नी बहिनी पर्ने मुकेशको भनाई छ । तर उनीहरू आफ्नै दाजुबहिनी जत्तिकै मायाप्रेम दर्शाउँछन् रे !
चलचित्रमा कलाकार होस् या निर्माता निर्देशक आफ्ना नाता पर्नेलाई चलचित्रमा सिफारिस गर्न भ्याईहाल्छन् । आरोप नै लाग्ने गरेको छ कलाकार हुन कि पैसा खन्याउनु पर्छ कि त नातावादको पावर हुनुपर्छ । त्यसैले यहाँ पनि प्रश्न उठ्छ, के यि नायिका सिफारिसमा 'प्लान' मा अनुबन्धित भएका हुन् त ? चलचित्रका निर्देशक शोभित बस्नेत यस कुराको ठाडै अस्विकार गर्छन् । उनी भन्छन्, 'मेरा यि तीन नायिकाहरू अभिनयका लागि दक्ष छन् । यिनीहरू सिफारिसमा आएका हैनन् । आफ्नै क्षमताले कलाकार भएका हुन् ।'
निर्देशक बस्नेत यि तीन नायिकाले आफ्नो चलचित्रमा सोचे भन्दा राम्रो काम गरेको बताउँछन् । उनका अनुसार नयाँ कालाकार भए पनि कामका हिसाबले यि नयाँ लागेनन् रे ! युवावर्गलाई लक्षित गरि चलचित्र निर्माण गरिएकाले यि कलाकार युवावर्गमाझ लोकप्रिय हुनेमा शोभित बिश्वस्त छन् । अब हेर्न बाँकी छ यि नायिका कत्तिको लोकप्रिय हुने हुन् ।