अढाई दशक अघि माया चलचित्र मार्फत चलचित्रको संगीतकारको रूपमा परिचित शम्भुजित बाँस्कोटा चलचित्र संगीतमा सन्यासको मुडमा रहेका छन् । फिल्मीखबरसँग विशेष कुरा गर्दे उनले भने, 'अब म घरबारी बेचेर आएको प्रोडूसरहरूको फिल्ममा काम गर्ने छैन । म कमाउने उनीहरू नकमाउने यो यो त भएन ।'
यस्तै बाँस्कोटाले पछिल्ला समय एकाध चलचित्र बाहेक अरू चलचित्रको स्तर समेत खस्किएकाले पनि चलचित्रमा काम गर्ने इन्ट्रेष्ट हटेको बताए । उनले एक फिल्ममा संगीत भर्दा १ लाख लिने गर्थे रे ! तर पछिल्लो समय त्यो पारिश्रमिक घटेर ७५ हजारमा सिमित भएकाले पनि उनले चलचित्रका लागि काम नगर्ने बताएका हुन् । उनले भने, 'समय अनुसार श्रष्टाको पारिश्रमिक बढ्नु पर्ने हो यहाँ त उल्टै घट्दो रहेछ ।'
शम्भुजितले हाल सम्म जोयन्ट भएर कुनै पनि संगीतकारसँग चलचित्रमा संगीत नदिएको बताए । उनीद्धारा संगीतबद्ध चार चलचित्रहरू रिलिज हुने लिष्टमा छन् । सुरूमा 'मलाई मन पर्यो' रिलिज हुने छ भने त्यसपछी मधुसुदन सिलवालको 'मेरो के गति हुने हो' रिलिज हुने छ । यसैगरी भूवन केसीको 'साथी म तिम्रो' र तुलसी घिमिरे निर्देशित चलचित्र 'मृगतृष्णा' रिलिजका क्रममा रहेका छन् । मृगतृष्णा उनले काम गरेको पछिल्लो चलचित्र हो ।
शम्भुजितले यी चलचित्रमा एक बर्ष अघि नै संगीत भरेका थिए । त्यसपछी उनले कुनै पनि चलचित्रमा काम गरेका छैनन् । पूर्णरूपमा चलचित्रबाट सन्यासको घोषणा भने नगरिसकेका बाँस्कोटाले पूराना फिल्म मेकरहरूले फिल्म निर्माणमा चासो देखाएको खण्डमा एक पटक सोच्न सक्ने बताए । उनले भने, 'यादव खरेल ,शम्भु प्रधान लगायतका फिल्ममेकरहरूले पुनः फिल्म निर्माणमा चासो नदेखाएर पनि नेपाली चलचित्रको स्तर घट्दै गएको हो । तर मैले पूर्णरूपमा सन्यास लिईसकेको भने चाहि हैन ।'
घरबारी नबेचिकन फिल्म निर्माण गर्ने केही प्रोड्यूसरहरू अझै पनि सक्रिय रहेकाले उनीहरूसँग कुरा मिलेको खण्डमा आफू काम गर्न तयार रहने यि पाका संगीतकारको भनाई छ । उनी अब स्क्रिप्ट तथा चलचित्र मेकेर हेरेर नै काम गर्ने मुडमा रहेका छन् । चित्त बुझ्दो प्रोजेक्ट आएन भने शम्भुजित चलचित्रको संगीतमा देखिने छैनन् । शम्भुजितले ३ सय बढी चलचित्रमा संगीत भरेका छन् ।